राष्ट्र बैंकले १ अर्ब १५ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब १५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले वर्गीकरण गरेका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।

क वर्गका वाणिज्य बैंकहरुका लागि ९२ करोड, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुका लागि १७ करोड २५ लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ५ करोड ७५ लाख बराबरको रकम विनियोजन गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफूले लिन चाहेको रकम उल्लेख गर्न आह्वान गरेको छ । बैंकले यहि साउन २५ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, बैंकको तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम भएको, निष्क्रिय कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने लगायतका शर्त आवेदन दिने बैंक तथा वित्तीय संस्थाले पालना गर्नुपर्ने छ ।

केन्द्रीय बैंकको वित्त व्यवस्थापन विभाग अवकाश कोष इकाईले तोकिएको शर्त पूरा गरेर आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।