नेपाल हाइड्रो डेभलपर्सको प्रतिसेयर आम्दानी साढे ११ रुपैयाँ नजिक


बिजुली बिक्रीबाट हुने आम्दानी बढेपनि नेपाल हाइड्रो डेभलपर्सको खुद नाफामा सुधार आएको छ । योसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार देखिएको छ ।

गत आर्थिक वर्ष २०७९।०८० को अन्त्यसम्ममा कम्पनीले बिजुली बिक्रीबाट १० करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले यो शीर्षकमा ९ करोड ४२ लाखको बिजुली बिक्री गरेको थियो ।

समीक्षा अवधिमा प्लाण्ट सञ्चालनमा भएको खर्च १ करोड ८७ लाख रुपैयाँबाट १ करोड ७८ लाखमा घटेको कम्पनीको बिजुली वितरण तथा प्रशासनिक खर्च १ करोड ७४ लाखबाट घटेर २० लाख ४९ हजारमा झरेको छ ।

आम्दानीमा आएको सामान्य सुधार र खर्चमा भएको कटौतीले कम्पनीको सञ्चालन मुनाफा ५ करोड ८४ लाखबाट बढेर ८ करोड २६ लाख रुपैयाँ पुगेको छ । वित्तीय खर्चमा भएको सामान्य बढोत्तरी तथा डिप्रिसिएशन समायोजन, बोनस, सामाजिक उत्तरदायित्वको खर्च तथा कर समायोजना पश्चात कम्पनीको खुद नाफा ३ करोड ८३ लाख १३ हजार रुपैयाँ कायम भएको छ ।  अघिल्लो आर्थिक वर्षको अन्त्यमा कम्पनीको खुद नाफा २ करोड १ लाख ५४ हजार रुपैयाँ थियो ।

खुद नाफामा आएको सुधारसँगै कम्पनीको अघिल्लो आर्थिक वर्षको ६ रुपैयाँ ३० पैसाको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको अन्त्यमा ११ रुपैयाँ ४१ पैसा कायम भएको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजीमा सामान्य वृद्धि अर्थात ३१ करोड ९९ लाख ३० हजारलाई ३३ करोड ५९ लाख २६ हजार मात्र कायम गर्दा प्रतिसेयर आम्दानीमा धेरै सुधार देखिएको हो ।

जगेडा कोषमा ४ करोड २६ लाख २७ हजार रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ७२ पैसा तथा मूल्य आम्दानी अनुपात ३३.०६ गूणाले बढी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।