साउन २१ गतेबाट लगातार गिरावट आएको सुनको भाउ पाँचौ दिन पनि घटेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घट्दा नेपाली बजारमा पनि त्यसको असर देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । ‘अहिले बजारमा अन्य कुनै प्रभाव परेको छैन अन्तर्राष्ट्रिय बजारमा नै सुन घटेको कारणले सुनको भाउ हो’ उनले भने । सुनको भाउ अझै केही दिन घट्ने उनको भनाइ छ ।
आज शुक्रबार छापावाला सुन १ लाख ११ हजार १ सय रुपैयाँ तोकिएको छ । साउन २१ गते सुनको भाउ १ लाख १२ हजार ५ सय रुपैयाँ तोकिएको थियो । त्यसको भोलीपल्ट अर्थात साउन २२ गते १ सय रुपैयाँ घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम थियो ।
यस्तै साउन २३ गते ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार १ सय रुपैयाँ कायम भएको सुन साउन २४ गते १ सय रुपैयाँ घटेको थियो।
यस्तै हिजो ७ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरी २ सय रुपैयााले घटेको हो । हिजो छापावाला सुन १ लाख ११ हजार ३ सय रुपैयाँ तोकिएको थियो ।
छापावाला सुन ५ दिन घट्दा १२ सय रुपैयाँले घटेको छ । यता छापावाला सुनको भाउ १ लाख १० हजारसम्म पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।
सुनमा लगानी गर्नेहरु घट्ने बित्तिकै सुनको भाउमा पनि गिरावट आएको उनको भनाइ छ । यता चीन र रुसले पनि सुनको खरिद कम गर्न थालेको कारणले सुनको भाउ घटेको उनको भनाइ छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन तेजावी सुनको भाउ १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । यसैबिच आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । हिजो १३ सय ८० रुपैयाँ रहेको चाँदी आज १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९१३ दशमलव ४७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ६९ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया