घोराहीको सेयर खुलेकै दिन ओरालो लाग्यो मूल्य, साढे १ घण्टामा साढे २ लाख कित्ता कारोबार

0
Shares

घोराही सिमेन्टको सेयर मूल्य कारोबार खुलेकै दिन ओरालो लागेको छ । कम्पनीको सेयर अधिकतम कारोबाररेञ्जभन्दा ११५ रुपैयाँ कम अर्थात ५६५ रुपैयाँमा आइतबार स्पेशल प्रि–ओपनिङ्ग सेसनमा पहिलो कारोबार भएको थियो । नेप्सेले घोराही सिमेण्टको कारोबार सुरु गर्नका लागि २२६ रुपैयाँ ६१ पैसादेखि ६७९ रुपैयाँ ८३ पैसाको रेञ्ज दिएको थियो छ ।

बिहीबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा कुल ३ करोड ९७ लाख १९ हजार ६ कत्ता सेयर सूचीकृत गराएको कम्पनीको आइतबारदेखि कारोबारमा आएको हो । नेप्सेले कम्पनीको धितोपत्र कारोबारका लागि जीसीआईएल (GCIL) संकेत प्रदान गरेको छ ।

कम्पनीको पहिलो काराबोर १० कित्ता सेयर खरिद बिक्री भएको हो । ५६५ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको कम्पनीको अधिकतम ५८१ रुपैयाँ ४० पैसासम्म पुगेको थियो । साढे १ घण्टा अवधिमा कम्पनीको सेयर मूल्य ८.४७ प्रतिशतले घटेर ५१७ रुपैयाँ ६० पैसामा खरिद बिक्री भैरहेको छ । साढे १ घण्टा अवधिमा कम्पनीको २ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । नेप्सेको मार्केट डेप्थमा ३० हजार ७३५ कित्ता बिक्री आदेश देखिँदा खरिदतर्फ १ लाख ३ हजार ५० कित्ताको माग रहेको छ ।


कम्पनीको सेयर साउन २५ गते बिहीबार नेप्सेमा सूचीकरण भएको हो । कम्पनीले सर्वसाधारणमा ६९ लाख ११ हजार ६७० कित्ता, वैदेशिक रोजगारीमा गएकाहरुमा ६ लाख ६ हजार ३५० कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दामा ७७ हजार २९० कित्ता, सामुहिक लगानी कोषहरुमा ३ लाख २८ हजार ९६१ कित्ता र कम्पनीका कर्मचारीमा १९ हजार ५३० कित्ता सेयर बाँडफाँड गरेको थियो ।

कम्पनीले सर्वसाधारण, आयोजना प्रभावित, बैदेशिक रोजगारीमा गएका तथा सामुहिक लगानी कोषलाई अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँको दरमा सेयर बिक्री गरेको थियो। आयोजना प्रभावितहरुलाई भने कम्पनीले ३०० रुपैयाँ प्रिमियम थप री प्रतिकित्ता ४०० रुपैयाँको दरमा सेयर बिक्री गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।