एलआईसी नेपालको जगेडा कोषमा दोब्बर वृद्धि, ३८ करोडको दाबी भुक्तानी गर्न बाँकी


अघिल्लो आर्थिक वर्ष २०७९।०७९ को चौथो त्रैमासको अन्त्यमा नोक्सानीको अवस्थामा रहेको एलआईसी नेपालले गत आर्थिक वर्ष २०७९।०८० मा नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विबरण अनुसार गत असार मसान्तसम्ममा १२ करोड ४६ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ८ करोड ७४ लाख ७९ हजार रुपैयाँ खुद नोक्सानीमा थियो ।

धेरै जसो वित्तीय सूचकमा सामान्य गिरावट देखिएको कम्पनीको जगेडा कोषमा भने धेरै सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको समाप्तिमा जगेडा कोषमा ६१ करोड ५५ लाख रुपैयाँ सञ्चित गरेको कम्पनीले गत आर्थिक वर्षको समाप्तिमा १ अर्ब २७ करोड ५१ लाख रुपैयाँ सञ्चित गरेको छ । २ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जीवन बीमा कोषको आकार समीक्षा अवधिमा ९३ अर्ब ६३ करोड रुपैयाँबाट बढेर १ खर्ब ७ अर्ब ४७ करोड कायम भएको छ ।

गत आर्थिक वर्षमा १७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको एलआईसीले अघिल्लो आर्थिक वर्षमा १८ अर्ब १३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षमा ८ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले अघिल्लो आर्थिक वर्षमा ९ अर्ब ६ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

३८ करोड २१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको कम्पनीको बीमाङ्कीय मूल्याङ्कन पछि वित्तीय सूचकमा संशोधन हुनेछ । नाफाका सूचकहरु विषेशगरी अपरिष्कृत विबरणमा वास्तविक नहुने भएकाले यस्ता सूचकले लगानीकर्तालाई भने अलमलमा पर्छन् ।

प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ २५ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७ पैसा छ । परिष्कृत विबरणमा यो तथ्यमा सुधार हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।