लगानीकर्ताको मनोबल बलियो हुन सकेन, बजार सुस्त बन्दै


गानीकर्ताको मनोबल बलियो हुन नसक्दा सेयर बजार २१०० विन्दुको नजिकमा अडिएको छ । कारोबार रकम बिस्तारै घट्दा कारोबारमा आउने सेयर संख्या, कारोबार संख्या समेत घट्न थालेसँगै बजार सुस्त हुन थालेको हो ।

सोमबार बजार परिसुचक नेप्से ३.६१ अंकले घटेको छ । बजार खुलेपछि क्रमिक रुपमा उकालो लागेर १४ अंकको सुधार भए पनि २ घण्टा पछि त्यो वृद्धि टिक्न सकेन र क्रमिक रुपमा फेरी ओरालो लाग्यो । २८९ कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता सेयरहरु ६८ हजार ८४२ पटक किनबेच हुँदा २ अर्ब ९ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँको कारोबार भएको छ । आइतबार २ अर्ब ४२ करोडभन्दा बढी रकमको सेयर किनबेच भएको थियो ।

कारोबारमा आएका कम्पनीहरुमध्ये ७० कम्पनीको सेयर मूल्य बढेको बजारमा केही कम्पनीको सेयरमूल्य स्थिर हुँदा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार सूचीकरण भएका थ्री स्टार र अपर स्याङ्गे हाइड्रोको सेयर मूल्यमा सोमबार पनि १० प्रतिशतको सुधार भएको छ भने सिवाईसी नेपाल लघुवित्तको साढे ७ प्रतिशत, इन्फिनिटी लघुवित्तको ६ प्रतिशत र इमर्जिङ नेपालको ५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

सुद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य साढे ६ प्रतिशतले घटेको बजारमा बुद्धभूमी नेपाल हाइड्रो र हिमालयन उर्जाको सेयर मूल्इ ४ प्रतिशतभन्दा धेरैले घटेको छ । शुभम् पावर र सानिमा ग्रोथ फण्डको सेयर तथा इकाई मूल्य ३ प्रतिशतले घटेको बजारमा धेरै जलविद्युत कम्पनीको सेयर मूल्य घटेको छ ।

समुहगत आधारमा उत्पादन समुहमा ३७.१९ अंकको सुधार आएको बजारमा लघुवित्तमा १४.२४, वाणिज्य बैंकमा ६.८७, विकास बैंकमा १.१३ र सामुहिक लगानी कोषमा ०.०८ अंकको सुधार आएको छ ।

निर्जीवन बीमा कम्पनीमा सबैभन्दा धेरै अर्थात १०६.३१ अंकको गिरावट आएको बजारमा होटलमा ९२.६८, व्यापारमा ४१.३०, जलविद्युतमा ३६.०४, अन्यमा १०.१६, जीवन बीमामा ५.७१, वित्तमा ५.४६ र लगानी समुहमा ०.१७ अंकको गिरावट आएको छ ।

ठुला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ०.०६ अंकले बढेको बजारमा फ्लोट इण्डेक्स घटेको छ भने सेन्सेटिभ फ्लोट बढेको छ ।

बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि सामान्य प्रभाव परेको छ । सोमबार बजार पुँजीकरण ३१ खर्ब १० अर्ब ५९ करोड ५३ लाख ४१ हजार ३४ रुपैया कायम भएको छ । आइतबार यस्तो पुँजीकरण ३१ खर्ब १० अर्ब ५९ करोड ५३ लाख ४० हजार रुपैयाँ थियो ।

आर्थिक वर्षको समाप्तिसँगै सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई लाभांश वितरण गर्न सुरु गरिसक्दा पनि बजारमा त्यसको सकरात्मक असर नदेखिएको हो । सबैजसो कम्पनीहरुको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विबरण अपेक्षा अनुरुपको नआउँदा लगानीकर्ता अलमलमा परेका हुन् । अर्कातिर अर्थतन्त्र र बैकिङ प्रणालीका सम्बन्धमा समय समयमा हुने चर्चा परिचर्चाले पनि लगानीकर्तालाई बजारमा सक्रिय हुनबाट रोकिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।