गोयङ्का स्टील्सले गर्यो साढे ३ अर्बको कारोबार

0
Shares

व्यापारिक घराना गोयङ्का ग्रुपको लगानी रहेको गोयङ्का स्टील्स प्रालिले सन् २०२२ मा ३ अर्ब ४३ करोड ३७ लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा २ अर्ब ६६ करोड १६ लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२२ मा २९ प्रतिशतले बढेको हो ।

सन् २०१९ मा ३ अर्ब ९४ करोड ९० लाख रुपैयाँ कारोबार गरेको कम्पनीको सञ्चालन आम्दानीमा दुई वर्षको गिरावटपछि सन् २०२२ मा सकरात्मक सुधार देखिएको हो । तथापि कोभिड–१९ अघिको समयमा हुने कारोबार सन् २०२३ मा समेत हुन सकेको छैन ।

कोभिड–१९ का कारण निर्माणका काममा भएको ढिलासुस्ती, सरकारले विनियोजन गरेको पुँजीगत खर्च समयमा खर्च गर्न नसक्नु, कच्चा पदार्थको आयातमा लगाइएको कडाइ लगायतका कारणहरुले गोयङ्का स्टील्सको सञ्चालन आम्दानी बढाएको छ । यसैगरी निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरुको सङ्ख्यामा भएको वृद्धि र प्रतिस्पर्धाको सामना पनि उद्योगले गर्नु परेको छ । जसकारण कम्पनीको आम्दानी प्रभावित बनेको छ ।

कम्पनीले १ अर्ब ९४ करोड ५८ लाख रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले १ करोड ५८ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र १ अर्ब ९३ करोड ५८ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ पुनः पुष्टि गरेको छ ।

सन् २००८ मा स्थापना भएको गोयङ्का स्टील्स पारिवारिक व्यवसाय रहेको छ । गोयङ्का ग्रुप प्रमोटर रहेको गोयङ्का स्टील्स रामगोपाल गोयङ्का र उनका दुई छोरा–अम्रित र अजय गोयङ्काको स्वामित्वमा रहेको छ ।

गोयङ्का स्टील्सले गोयङ्का गोल्ड ब्रान्ड नाममा टीएमटी छडको बिक्री वितरण गर्दै आएको छ । प्रतिवर्ष ८८ हजार ५ सय मेटिक टन उत्पादन क्षमता रहेको गोयङ्का स्टील्स उद्योग रुपन्देहीको गोनाह गाउँमा अवस्थित छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।