पुनर्बीमा कम्पनीमा लगानी घटाउँदै विशाल ग्रुप, १० लाख कित्ता बेचेर साढे ३३ करोड फिर्ता लिने

0
Shares

दोस्रो ठूलो सेयरधनी विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको रहेको आफ्नो हिस्सा घटाउने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेकोमध्ये १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने सञ्चालक समितिबाट निर्णय गर्दै सेयर बिक्रीका लागि कम्पनी उपर निवेदन दिएपछि नेपाल पुनर्बीमाले उक्त सेयरको मंगलबार बिक्री खुला गरेको छ । नेपाल पुनर्बीमाले हाल विद्यमान संस्थापकहरुले मात्र खरिद गर्न सक्ने गरी उक्त सेयरको बिक्री खुला गरेको हो ।

ब्यापारिक घराना बिशाल ग्रुपले प्रतिकित्ता न्यूनतम ३३५ रुपैयाँ तोकेर उक्त सेयर बिक्री गर्न चाहेको हो । बीमकको संस्थागत सेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ बमोजिम संसथापक सेयर बिक्री गर्दा विद्यमान सेयरधनीलाई प्राथमिकता दिनुपर्ने हुन्छ । सोही अनुसार ग्रुपले बोलकबोलका आधारमा सेयर बिक्री गर्न ३५ दिनभित्र बोलपत्र पेश गर्न समय दिएको हो । विद्यमान संस्थापकहरुबाट बोलपत्रमा पेश गर्दा आफूले गरिद गर्न चाहेको सेयर कित्ता (संख्या) र रकम खुलाई बोलपत्र पेश गर्नुपर्ने हुन्छ ।

उल्लेखित सेयरको न्यूनतम मूल्यमा सेयर बिक्री गर्दा ग्रुपले सेयर बिक्रीबाट ३३ करोड ५० लाख रुपैयाँ संकलन गर्नेछ । पुनर्बीमा कम्पनीको घट्दो व्यवसायक प्रगति र प्रतिफलका कारण व्यवसायिक घरानाले उक्त सेयर बिक्री गर्न लागेको देखिएकाे छ ।

पुनर्बीमा क्षेत्रमा बीमा क्षेत्रमा एकछत्र व्यवसाय लिएर काम गर्दै आएकाे नेपाल पुनर्बीमा कम्पनीकाे व्यवसाय र प्रतिफल पछिल्ला वर्षहरूमा खस्कँदाे क्रममा रहेकाे छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा क्षेत्रमा निजी क्षेत्रको अर्को बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सलाई इजाजत दिएको छ । यसले नेपालको एकमात्र पुनरबीमा कम्पनीको व्यवसायकाे हिस्सा घटेको छ । स्वदेशमा अनिवार्य रुपमा गर्नुपर्ने २० प्रतिशत पुनर्बीमा यसअघि नेपाल पुनर्बीमा कम्पनी पाउँदै आइरहेकाे थियाे ।

आरक्षित २० प्रतिशत पुनर्बीमाको हिस्सा दुई कम्पनीलाई आधा आधा बाँडिदिएपछि कम्पनीको व्यवसाय र नाफा दुबै प्रभावित हुँदै आएको अवस्था छ । गत आवको दोस्रो त्रैमाससम्म नेपाल रिको खुद नाफा १० लाख ३७ हजारले घटेर २९ करोड २४ लाख ६७ हजारमा खुम्चिएको तथ्याङ्क छ । यस्तै खुद बीमाशुल्क पनि २ अर्ब १५ करोडले घटेर २ अर्ब ८० करोड ७१ लाखमा खुम्चिएको छ । आव २०७६/७७ र आव २०७७/७८ मा पुनर्बीमा कम्पनीको खुद नाफा सवा अर्ब नजिक थियो । आव २०७८/७९ मा घटेर ५६ करोड ५० लाखमा खुम्चिएको अवस्था छ ।

पछिल्लो दुई वर्षहरुमा कम्पनीले ५ प्रतिशतका दरले मात्र लाभांश वितरण गरेको छ । कम्पनीले आव २०७६–७७ मा कम्पनीले १९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाल पुनरबीमा कम्पनीमा विशाल ग्रुपको ३५ लाख २२ हजार २२७ कित्ता सेयर लगानी रहेको छ । जुन कम्पनीकोमुल सेयर ३.०२ प्रतिशत बराबरको हो । उक्त संख्यामध्ये विशाल ग्रुपले १० लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । बिक्री गर्न चाहेको १० लाख कित्ता सेयर बिक्रीपछि नेपाल रि इन्स्योरेन्समा ग्रुपको २५ लाख २२ हजार २२७ कित्ता बाँकी रहनेछ । सेयर बिक्रीपछि विशाल ग्रुपको सेयर हिस्सा २.१६ प्रतिशतमा झर्नेछ भने राष्ट्रिय बीमा कम्पनी दोस्रो ठूलाे सेयरधनी बन्नेछ ।

पुनर्बीमा कम्पनीमा राष्ट्रिय बीमा कम्पनीको २.७७ प्रतिशत अर्थात ३२ लाख २६ हजार ५२४ कित्ता लगानी छ । मुख्य लगानीकर्ता नेपाल सरकारको ४४.०४ प्रतिशत लगानी रहेको कम्पनीमा १९ कम्पनीको १ प्रतिशतभन्दा धेरै रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।