ओरियन्टल होटलको नाफा १८ करोड नजिक, आम्दानी अर्ब नाघ्यो

0
Shares

काठमाण्डौंको लाजिम्पाटमा अवस्थित ओरियन्टल होटल लिमिटेडले गत आर्थिक वर्षको आफ्नो नाफामा उच्च सुधार गरेको छ । होटलले गत आवमा १७ करोड ८४ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनमा भएको सुधार तथा सभा सम्मेलन लगातयका कार्यक्रमहरुमा वृद्धि भएपछि होटलको खुद नाफा पनि बढेको हो । अघिल्लो आर्थिक वर्षमा होटल २ करोड ४६ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो ।

ओरियन्टल होटलले काठमाण्डौंको लाजिम्पाटमा र्‍याडिसन होटलको नाममा पाँचतारे होटल सञ्चालन गर्दै आएको छ ।

आर्थिक वर्ष २०७९–८० का चौथो त्रैमासिकको समीक्षा अवधिको अन्त्यमा वित्तीय विवरणहरू र कार्य सम्पादनका सूचाङ्कहरूलाई अघिल्लो आर्थिक वर्षको सोहि अवधिसँग तुलनात्मक रूपले विश्लेषण गर्दा कम्पनीको कुल आयमा ९५.९० प्रतिशत वृद्धि भएको छ । आय वृद्धि हुनुको मुख्य कारण कोभिड विरुद्धका खोपहरुको आविष्कार भई संसारभर यसको व्यापक प्रयोगले कोभिडको रोकथाममा प्रभावकारी र सकारात्मक प्रभावले पर्यटकीय गतिविधि विस्तारै चलायमान हुन थालेको छ ।

यस्तै सह–वित्तीयकरण बैंकहरूबाट पूर्व सहमति अनुसार फ्रोजन ब्याजको केही अंश मिन्हा दिइएको कारणले पनि आयमा वृद्धि भएको हो । नेपालमा पर्यटन व्यवसायको प्रचुर सम्भावना भएकोले आगामी दिनहरूमा आयमा अझै वृद्धि हुनेछ भन्ने विश्वास होटलको छ ।

चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँ रहेको होटलको खुद नाफा उच्च बढेसँगै प्रतिसेयर आम्दानी १५ रुपेयाँ ८२ पैसा छ । अघिल्लो आवमा २ रुपैयाँ १८ पैसा ऋणात्मक थियो । कम्पनीको जगेडा कोषमा रहेको सञ्चित रकम साढे २० प्रतिशत बढेर १ अर्ब ४ करोड ९९ लाख १० हजार रुपैयाँ पुगेको छ ।

चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुासर कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ९ करोड ४० लाख ५३ हजार रुपैयाँ भएको छ । यो अघिल्लो आवको तुलनामा ९१.८६ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ५७ करोड २ लाख रुपैयाँ थियो । होटल व्यवसाय करिब शतप्रतिशतले बढेपछि खुद नाफामा आकर्षक बढोत्तरी भएको हो ।

नेपालको तारे र बिना तारे श्रेणी होटलहरुको छाता संगठन होटल एशोसिएसन नेपालले पनि कसरी यस प्रतिकूल प्रभावहरुलाई कम गरि होटल उद्योगको व्यवसायलाई सहज बनाउन मद्दत गर्नेछ भन्ने उपायहरूको पहिचान गर्दैछ । यसले मात्र समाधान नहुने भएकोले अवधिमा यस होटललाई हुने क्षति कम गर्न विभिन्न लागतहरू कसरी कम गर्न सकिन्छ भनेर यस होटलका व्यवस्थापक निरन्तर रूपमा प्रयासरत रहेको होटलले जनाएको छ ।

गत आवमा होटलको खर्च समग्रमा गत आवमा ५२.१६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा प्रशासनकिन तथा सञ्चालन खर्च ४७ करोड ३६ लाख रहेकोमा गत आवमा ६० प्रतिशत बढेर ७५ करोड ८५ लाख ४२ हजार रुपैयाँ पुगेको छ । यस्तै खाद्यान्न तथा पेय पदार्थमा हुने खर्च ४४.६० प्रतिशतले बढेर १६ करोड ४२ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८०७ प्रतिशत बढेर २९ करोड २१ लाख ३४ हजार कायम भएको छ । अन्य आम्दानी १४० प्रतिशत बढेर १२ करोड ४९ लाख २० हजार रुपैयाँ छ । असार मसान्तसम्ममा कम्पनीको प्रति सेयर आम्दानी प्रति सेयर नेटवर्थ १९३ रुपैयाँ ७ पैसा र मूल्य आम्दानी अनुपात ५०.५२ गुणा छ ।

उद्योग र अर्थ व्यवस्थामा महामारीको प्रभाव न्यूनीकरणका लागि विशेष उपायको आवश्यकताको पहिचानका लागि नेपाल सरकार, प्रदेश सरकारहरू र नेपाल राष्ट्र बैंकले विभिन्न उपायहरू सुरू गरेको छ । जसले कम वैधानिक परिपालनाको माध्यमबाट र कर्जा प्रवाहमा वृद्धि गरेर आपूर्ति श्रृंखलामा भएको अवरोधको न्यूनीकरणमा मद्दत पुग्ने होटलले जनाएको छ ।

त्यसैगरि आगामी दिनहरूमा कम्पनीले उपयुक्त अवसरको खोजी गरि अक्युपेन्सी र आम्दानी बढाउनका लागि अपनाउनुपर्ने सबै व्यावसायिक रणनीतिक संयन्त्रहरूको समुचित सदुपयोग गर्दै उपलब्ध अत्याधुनिक साधनहरूको प्रयोग लगायत सबै उपायहरू अबलम्बन गरि कार्य गर्नेछ भने होटल सञ्चालन लागतमा मितव्ययिता अपनाई नियन्त्रणात्मक कार्य योजना अन्तर्गत अनावश्यक खर्च कटौतीलाई जारी राख्दै विविध बजार खण्डमा सुक्ष्म रूपमा प्रवेश गरि आफ्नो व्यावसायिक गतिविधिहरू सञ्चालन जारी राख्ने वित्तीय विवरणमा उल्लेख छ ।

सहवित्तीयकरण कर्जा एवम चालू पुँजीहरूको साँवा व्याज नेपाल राष्ट्र बैंकद्वारा निर्देशित सुविधाहरूलाई ग्रहण गर्दै निर्धारित समयमा भुक्तानी गरिएको होटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।