मारवाडी समुदाय लक्षित आक्रमण खेदजनकः उद्योग संगठन, मोरङ


पछिल्ला दिनमा उद्योग व्यवसायमा सक्रिय मारपाडी समुदायप्रति निरन्तर आक्रमण भएको भन्दै उद्योग संगठन मोरङले खेद प्रकट गरेको छ । संगठनले आइतबार विज्ञप्ति जारी गर्दै मूलुकको बिग्रदो आर्थिक अवस्थालाई लिएर निश्चित वर्ग र समूदायलाई लक्षित गरि अपमानजनक र अमर्यादित टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

“नेपालको संविधान २०७२ ले सम्पूर्ण नेपाली नागरिकलाई स्वतन्त्ररुपमा बाँच्ने तथा उद्योग व्यवसाय गर्न पाउने अधिकारलाई मौलिक हकका रुपमा स्थापित गरेको छ । संविधानले सबै नागरिकलाई समानरुपमा व्यवहार गरेको भएतापनि पछिल्ला दिनहरुमा मूलुकको बिग्रदो आर्थिक अवस्थालाई लिएर निश्चित वर्ग र समूदायलाई लक्षित गरि अपमानजनक र अमर्यादित टिकाटिप्पणी प्रति यस संगठनको गम्भिर ध्यानाकर्षण भएको छ,” संगठनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

मुलुकको आर्थिक एवं सामाजिक विकासमा अतुलनिय योगदान गर्दै आएका मारवाडी समुदाय लाई लक्षित गरि मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहस नहस बनाएको भन्ने गैर जिम्मेवारपूर्ण र समाजमा द्धैष फैलाउने काम खेदजनक भएको संगठनको भनाई छ । “सामाजिक सद्भावमा खलल पुर्याउनेगरि सञ्चार माध्यमहरु मार्फत लगातार कोही व्यक्तीले अभिब्यक्ती दिइरहदा समेत राज्यले यस्तो कृयाकलाप रोक्न कुनै पहल नगर्नु अत्यन्त दुःखद र खेद्जनक रहेको छ,” संगठनले भनेको छ ।

मुलुकको अर्थतन्त्र अत्यन्तै गम्भिर अवस्थामा रहेको पछिल्लो समयमा राज्यका सबै निकाय, राजनीतिक दल, नीजि क्षेत्र तथा आम सर्वसाधारण सबैजना आर्थिक अवस्था सूधारका लागी सामूहिक प्रयास तथा आर्थिक एवंम औद्योगिक व्यवसायिक विकासका लागी एक ढिक्काभई लाग्न आग्रह गरेको संगठनले कुनै समुदाय बिषेशलाई लक्षित गरि दोषारोपण गर्नाले औद्योगिक व्यवसायिक वातावरण मात्र होइन सामाजिक सद्भावमा समेत गम्भिर खलल पुग्नेतर्फ सचेत गराएको छ ।

गलत कार्य गर्ने जो कोहि, जुनसुकै समूदाय वा वर्गको भएता पनि दण्डित हुनु पर्ने बताएको संगठनले कोहि कसैले गलत गर्यो भनेर अनुमान गरेको भरमा पुरै समूदायलाई लक्षित गरि भइरहेको गलत अभिव्यक्ती र द्धैषभाव फैलाउने कार्यलाई तत्काल कानुनी कारबाहिको दायरामा ल्याई निरुत्साहित गर्न संगठनले सरकारसँग आग्रह समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।