समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ती गर्ने

समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ती गर्ने

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ती गर्ने भएको छ । समता घरेलुले मनकामना लघुवित्तलाई गाभ्ने सम्बन्धमा भदौ ७ गते बिहान प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली एवं धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको नीति निर्देशन अनुसार दुई लघुवित्तबीच प्राप्ति सम्बन्धी प्रकृया अघि बढेको हो ।

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ७ मा रहेको छ । यस्तै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा रहेको छ ।

हाल समता घरेलुको चुक्ता पुँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँ र मनकामना स्मार्ट लघुवित्तको १४ करोड ८४ लाख ७८ हजार रुपैयाँ छ । प्राप्ति पश्चात् कायम हुने समता घरेलु लघुवित्तको कुल चुक्ता पुँजी ५४ करोड २६ लाख ३३ हजार कायम हुनेछ । समता घरेलु लघुवित्तले ३ करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणहरुमा थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने गरि प्रक्रिया अघि बढाईएको जानकारी कम्पनी सचिव विश्व श्रेष्ठले बताए । एफपीओ पश्चात् कायम हुने समता घरेलु लघुवित्तको कुल चुक्ता पुँजी ५७ करोड ५९ लाख पुग्नेछ ।  कुल शाखा संख्या ९९ वटा हुनेछ ।

समता घरेलुसँग गाभ्ने–गाभिने सम्बन्धि सझौतापत्रमा हस्ताक्षर भएसँगै मनकामना लघुवित्तको दोस्रो बजारमा सेयर कारोबार रोक्का हुने भएको छ ।

समता घरेलु लघुवित्त राष्ट्रियस्तरको लघुवित्त हो भने मनकामना स्मार्ट प्रदेशस्तरिय कार्यक्षेत्र भएको लघुवित्त हो । गत आवमा समता घरेलु लघुवित्तले ५ करोड ७४ लाख७ हजार रुपैयाँ र मनकामना स्मार्ट लघुवित्तले २१ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ७ भदौ २०८०, बिहीबार ११ : ३१ बजे