आइटीमा लागेका युवा करको दायरामा पनि आउनुपर्छ : अर्थमन्त्री


अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूलो सङ्ख्यामा युवा आइटीमा लागे पनि करको दायरामा भने नआएको बताएका छन् ।  इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर) द्वारा आज काठमाडौँमा आयोजित ‘साना राष्ट्रको क्षमता : नेपालमा प्रतिस्पर्धाको परख र विदेश नीतिको प्राथमिकता’ विषयक विचार गोष्ठीमा अर्थमन्त्री डा महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै आइटीमा लागेका युवाहरू करको दायरामा पनि आउन उनले आग्रह गरेको हुन् । 

“अहिले नेपालमा ठूलो सङ्ख्यामा युवा आइटीमा लाग्नुभएको छ तर करको दायरामा आउनुभएको छैन”, मन्त्री डा महतले भने, “नेपालबाट बेलायतमा एक सय मिलियन पाउण्ड बराबरको सफ्टवेयर निर्यात हुने गरेको छ ।” नेपालको सन्दर्भमा आइटीको उच्च सम्भावना 
भएकाले आवश्यक पूर्वाधार निर्माण गरी त्यसको प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए । 

“नेपालमा सूचना प्रविधि(आइटी)का क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको छ”, उनले भने, “चालु आवको बजेटमा आइटी क्षेत्रमा लगाउँदै आइएको आम्दानी कर ५० प्रतिशत कम गर्ने नीति लिइएको छ । नेपालमा प्रविधिको क्षेत्रमा ठूलो अवसर रहेको छ ।”

मन्त्री डा महतले ५० देखि शतप्रतिशत छात्रवृत्ति विना विदेशमा अध्ययनका लागि जान नहुने धारणा राख्दै नेपालमा पनि शिक्षाका क्षेत्रमा पनि धेरै अवसर भएकाले सोको सदुपयोग गर्नुपर्नेमा जोड दिए । पर्यटन प्रवर्द्धनका लागि ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि ऋण कसरी तिर्ने भन्ने समस्यामा सरकार रहेको उनले बताए । “ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनायौँ । कसरी ऋण तिर्ने भन्ने भइरहेको छ”, मन्त्री डा महतले भने , “त्यो भन्दा पहिला निजगढमा विमानस्थल बनाउन पाएको भए राम्रो हुन्थ्यो ।” नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता निश्चित रहेकाले धेरै पर्यटक आउ भन्न सक्ने अवस्था नभएको उनको भनाइ थियो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको अर्थतन्त्रमा आर्थिक चुनौती यथावत् रहेकाले अहिलेको अर्थतन्त्रको ‘ट्रेण्ड’लाई बदल्न जरुरी रहेको धारणा राखेका थिए । उनले दुई छिमेकी राष्ट्रको बढ्दो अर्थतन्त्रबाट फाइदा लिन सक्ने गरी अर्थतन्त्रको स्वरुप फेर्नुपर्नेमा जोड दिए । पूर्वअर्थमन्त्री पाण्डेले भने , “नेपालको पर्यटन र पूर्वाधार क्षेत्रको विकाससँगै अर्थतन्त्रलाई गति दिन भारत र चीनबाट पर्यटक भित्र्याउने गरी कार्यक्रम ल्याउन आवश्यक छ ।” उनले मुलुकको हालको अर्थतन्त्रको अवस्थालाई बदल्न अमेरिकालगायतका ठूला शक्ति राष्ट्रको साथ चाहिने उल्लेख गरे । हाल विदेशी मुद्रा सञ्चिति राम्रै रहे पनि आर्थिक चुनौती यथावत् नै रहेको उनको भनाइ थियो ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालका दुई छिमेकी भारत र चीनमा आर्थिक विकास द्रूत गतिमा भइरहेकाले त्यसबाट हामीले पनि सिक्नुपर्ने बताए । “आज बाटो बनाउने भोलि भत्काउने खालको विकासले हामी कहीँ पुग्दैनौँ”, उनले भने, “हामीले सन्तुलित एउटा परराष्ट्र नीतिलाई आत्मसात गर्दै सबै ठूला र विदेशी राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध राखेर मात्र हामी अगाडि बढ्न सक्छौँ, त्योभन्दा अर्को विकल्प हामीसँग छैन् ।”

नेपालमा आउने विप्रेषण (रेमिटेन्स)को सदुपयोग गरेर लगानीका क्षेत्रमा महत्वपूर्ण कार्य गर्न सकिने जनाउँदै पूर्वअर्थमन्त्री शर्माले विकास र प्रविधिका क्षेत्रमा विकसित राष्ट्रबाट धेरै कुरा सिक्नुपर्ने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।