आईपिओ लगत्तै माइ खोलाका सेयरधनीलाई शतप्रतिशत हकप्रदको भारी, नेटवर्थ र आम्दानी छैन उत्साहजनक


साधारण सेयर निष्काशनका क्रममा रेटिङ एजेन्सीले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्य जोखिम रहेको जनाएको माइखोला हाइड्रोपावर कम्पनीले आईपिओ लगत्तै सेयरधनीलाई हकप्रदको भारी बोकाउने भएको छ । २०७९ बैशाख ८ गतेदेखि १२ गतेसम्म प्राथमिक निष्काशन गरेको कम्पनीले ६ महिना नबित्दै शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

लगानीकर्ताको लगानीले प्रतिफल पाउने सुनिश्चित नभएको अवस्थामा माइखोला हाइड्रोको सञ्चालक समितिले हाल कायम चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको साधारण सभा समेत आह्वान गर्ने निर्णय गरेको छ ।

यद्यपी कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार हकप्रद निष्काशनको प्रस्ताव साधारण सभामा लैजान पाउने छैन । विद्युत नियमन आयोगको अनुमति पश्चात मात्र कम्पनीले उक्त प्रस्ताव साधारण सभामा लैजानु पर्ने हुन्छ ।

कम्पनी सञ्चालक समितिले २०८० असोज ९ गतेका लागि साधारण सभा बोलाउने निर्णय गरेको हो । उक्त समयसम्ममा विद्युत नियमन आयोगले कम्पनीको प्रस्तावित हकप्रदलाई स्वीकृति दिएको खण्डमा सोही साधारण सभाले हकप्रदलाई अनुमोदन गर्नेछ ।

त्यसो नभएको खण्डमा विशेष साधारण सभा आह्वान गर्नुपर्ने हुन्छ । अर्कातिर आयोगले तत्काल कम्पनीलाई हकप्रद निष्काशनको अनुमति नदिने सम्भावना पनि रहन्छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि भदौ असोज १ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय समेत गरेको छ ।

सोमबार दोस्रो बजारमा २३६ रुपैयाँ प्रतिकित्ताको दरमा सेयर किनबेच भईरहेको माइखोला हाइड्रोको गत असार मसान्तमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ९९ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ २ पैसा छ ।

कमजोर नेटवर्थ र आम्दानी ज्यादै न्युन भएको अवस्थामा कम्पनीले आईपिओ लगत्तै फेरी सर्वसाधारणबाट पैसा उठाउने तयारी गरेको हो । अघिल्लो आर्थिक वर्षको अन्तिममा १ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत असार मसान्तसम्ममा १ करोड १ लाख खुद नाफा कमाएको थियो । कम्पनीको वित्त विभागका शम्भु निरौलाले अन्य जलविद्युत आयोजनामा लगानी गर्नका लागि हकप्रद निष्काशन गर्ने तयारी गरिएको जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।