नेप्से ७ अंकले उकालो लाग्यो, ६ कम्पनीको सेयरमूल्य सर्किट लेवलमा बढोत्तरी

0
Shares

सेयर बजार मापक सुचक नेप्से परिसूचक सोमबार ७.०४ अंक बढेर १९६७ दशमलव ८३ बिन्दुमा पुगेको छ ।

तीन कारोबार दिनदेखि ओरालो लागेको नेप्से ३७.६८ अंकको गिरावटपछि सोमबार सेयर बजारमा हरियाली देखिएको हो । आइतबार मात्रै नेप्से ३० अंकले घटेको थियो । १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको यस दिनको बजारमा ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इण्डेक्स १.०९ अंकले बढेको छ । व्यापार सर्वाधिक १.०६ प्रतिशत बढेको भने फाइनान्स ०.०२ प्रतिशत घटेको छ । बाँकी ११ उपसमूहगत सूचकहरुको वृद्धिदर १ प्रतिशतभन्दा कम छ ।

साताको दोस्रो कारोबार दिन सोमबार ९ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन थ्रीस्टार हाइड्रोपावर, दोल्ती पावर कम्पनी, ग्रीन भेन्चर्स लिमिटेड, रुरु जलविद्युत परियोजना, आशा लघुवित्त र अप्पर साङ्गे हाइड्रोपावरको सेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको हो ।

उता सोमबारको बजारमा लिबर्टी इनर्जीको सेयर ९.९८ प्रतिशतले घटेर १८२ रुपैयाँ ३० पैसामा झरेको छ । यस्तै कुमारी धनवृद्धि योजनाको इकाई ७.७८ प्रतिशत, सिक्लेस हाइड्रोपावर ६.१० प्रतिशत, आरबिबि म्युचुअल फन्ड–२ को इकाई ५.७८ प्रतिशत र ग्लोबल आइएमई ब्यालेन्स फन्ड–१ काे इकाई ५.७० प्रतिशतले घटेको छ ।

 

नेप्से बढेपनि कारोबार रकम भने अघिल्लाे दिनकाे तुलनामा घटेको छ । अघिल्लो दिन १ अर्ब १८ करोडको सेयर कारोबार भएकोमा सोमबार १ अर्ब ९ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । २७० स्टकको ३४ लाख ३२ हजार २६७ कित्ता सेयर ३२ हजार ५३३ वटा संख्यामा खरिद बिक्री भएको हो ।

आइएमई लाइफ इन्स्योरेन्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा छ । इन्स्योरेन्सको ५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट्स ४ करोड १९ लाख, नबिल बैंक ३ करोड ८५ लाख, सोल्टी होटल ३ करोड ३८ लाख र एनआईसी एशिया बैंकको २ करोड ६५ लाखको सेयर खरिद बिक्री भएको छ ।

सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण २९ खर्ब ४५ अर्ब ९० करोड ३५ लाख ८२ हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।