म्याग्दी हाइड्रोपावरले नागरिक उर्जा बुटवल लिमिटेडलाई प्राप्ती गर्ने

0
Shares

म्याग्दी हाइड्रोपावर लिमिटेडले नागरिक उर्जा बुटवल लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गर्ने विशेष प्रस्ताव राखेर आगामी असोज १२ गते शुक्रबार साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको भदौ १५ गते शुक्रबार दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, कामपा–३ बालुवाटारमा बिहान ११ बजे आव २०७९–८० को वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले दुई कम्पनीको चल अचल सम्पत्ति, दायित्व र कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए) प्रतिवेदनका आधारमा निर्धारण गरिएको म्याग्दी हाइड्रोपावर लिमिटेडको प्रति १ कित्ता सेयर बराबर नागरिक उर्जा बुटवल लिमिटेडको १ कित्ता सेयर अनुपातको सेयर मूल्य पारित गरी प्राप्ती एक्विजिशन गर्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । साथै नागरिक उर्जा बुटवललाई प्राप्ती एक्विजिशन गरी म्याग्दी हाइड्रोपावरमा विलय पश्चात स्वाप रेसियो अनुपातको सेयर संख्या मिलान गर्ने सम्बन्धमा निर्णय गर्नेछ ।

यस्तै सभाले प्राप्ती सम्बन्धमा गरिएको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्र लगायत सम्पूर्ण काम कारवाहीहरुलाई अनुमोदन गर्ने, प्राप्ती गर्ने कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने क्रममा नियमनकारी निकायहरु विद्युत नियमन आयोग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट कुनै फेरबदल संशोधन परिमार्जन गर्न वा मिलाउन वा कुनै कागजात वा विवरणहरु तयार गरी पेश गर्न कुनै सुझाव वा निर्देशन भएमा सोही अनुरुप आवश्यक कार्य गर्न वा प्राप्ती सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने छ ।

यस्तैमा सभाको विशेष प्रस्तावमा प्राप्ती गर्ने कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन, अधिकृत, जारी र चुक्ता पूँजी परिवर्तन र सञ्चालक समितिको संरचना परिवर्तन हुने भएको हुँदा स्वीकृत प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने रहेको छ । म्याग्दी हाइड्रोपावरले नागरिक उर्जा बुटवललाई प्राप्ती एक्विजिशन गर्ने विद्युत नियमन आयोग लगायतका निकायमा सैद्धान्तिक सहमतिको लागि आवेदन गर्ने निर्णय समेत गर्नेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०७९–८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने, आ.व. २०७९–८० को लेखापरीक्षण प्रतिवेदन र वार्षिक वित्तीय विवरण वासलात, २०८० साल असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सम्पूर्ण अनुसूची पारित गर्ने छ । यस्तै चालु आवको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने समेत सभाले गर्नेछ ।

सभाले म्याग्दी हाइड्रोपावर लिमिटेडले नागरिक उर्जा बुटवल लिमिटेडलाई प्राप्ती एक्विजिशन गर्ने प्रयोजनको लागि नागरिक उर्जा बुटवल लिमिटेड लगायत उल्लिखित दुवै संस्थाको चल अचल सम्पत्ति, दायित्व र कारोबारको मूल्याङ्कन प्रतिवेदन तयार गर्न नियुक्त मूल्याङ्कनकर्ता लेखापरीक्षक डि.जी.बि.ए. एसोसियट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक अनुमोदन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।