सेयर बजारमा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर छ: अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल सेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताएका छन ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिँदै उनले सेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर रहेको बताए ।

अर्थमन्त्री डा. महतले कानूनतः सबैखाले नागरिकले आफ्नो हौसियत अनुसार सेयर बजारमा लगानी गर्न छुट भएको उल्लेख गर्दै त्यस्तो लगानीलाई अनुचित मान्न नहुने स्पष्ट पारे । साथै उनले सेयर बजारमा कुनै पनि व्यक्ति नठगिउन् र कसैले एकाधिकार गर्न नसकोस् भनेर सरकारले निगरानी गरिहेको समेत बताए ।

अर्को प्रश्नको जवाफ दिँदै उनले निजामती सेवा ऐनमा नै निजामती कर्मचारीले आफ्नो ट्रेड युनियन गठन गर्न सक्ने व्यवस्था रहेको उल्लेख गर्दै उक्त कानून संसद्ले नै बनाएको स्पष्ट पारे । उनले ट्रेड युनियन गठन भएकै कारण राजस्व कम उठेको भन्न नहुने धारणा व्यक्त गर्दै मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको र राजस्व चुहावट नियन्त्रणका लागि विभिन्न काम भइरहेको जानकारी गराए ।

साथै उनले कर्मचारी, शिक्षक र प्राध्यापक वर्गलाई जिम्मेवारी र उत्तरदायी बनाउने क्षेत्रगत कानून रहेको र सोही अनुसार ट्रेड युनियन गठन भएको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।