लगानी बोर्ड स्थापनाको बाह्र वर्षः साढे १२ खर्बको लगानी स्वीकृत गर्दा सवा ५ खर्ब परिचालन

0
Shares

लगानी बोर्ड नेपालले स्थापनाको १२ वर्ष अवधिमा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गर्दा ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन गरेको छ ।

बोर्डले स्थापनाको १२ वर्षमा ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना गरी कुल ४२ परियोजनाका लागि बोर्डले लगानी स्वीकृत गरेको हो । यस अवधिमा प्रतिदिन ६ हजार टन उत्पादन क्षमता रहेको होङ्सी शिवम् सिमेन्ट र ३ हजार टन प्रतिदिन उत्पादन क्षमताको हुवासिन सिमेन्ट सहित कुल ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन भएको हो । यस्तै धरानमा वेस्ट टु इनर्जी परियोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ भने ९०० मेगावाटको अरुण–३ जलविद्युत् परियोजना, २१६ मेगावाटको माथिल्लो त्रिशुली लगायतका परियोजना कार्यान्वयनका क्रममा छन् ।

लगानी बोर्डले ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजना तथा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौता सम्पन्न भई वित्तीय व्यवस्थापनको क्रममा रहेका छन् । ४५० मेगावाटको सेती नदी–६ सहित राष्ट्रिय गौरवको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना अध्ययन तथा विकासका लागि एनएचपीसी लिमिटेडसँग समझदारी भई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को तयार भैरहेको बोर्डले जनाएको छ । साथै ३२७ मेगावाटको अपर मस्र्याङ्दी–२ जलविद्युत् परियोजनाको डीपीआर मूल्यांकन भैरहेको छ र पीडीएको तयारी समेत सुरु भएको जानकारी बोर्डले दिएको छ ।

यस अवधिमा लगानीकर्ताको विश्वास र लगानी गन्तव्यको रूपमा साख अभिवृद्धिमा एउटा नयाँ उचाइ प्राप्त भएको छ । नेपालमा पहिलो पुस्ताको विदेशी लगानीकर्ताको रूपमा परिचित डाबर नेपालले उत्पादन वृद्धि र विविधिकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ बराबरको पुनर्तलगानी गर्ने भएको छ । लगानी बोर्डको ५५ औं बैठकबाट चीन नेपाल मैत्री औद्योगिक पार्क परियोजनाको पीडीएका लागि वार्ता समिति गठन भै वार्ता समितिले कार्य थालनी गरिसकेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बाह्र वर्षको अवधिमा लगानी बोर्डले लगानी बोर्डको कार्यालयलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) को विशिष्टिकृत संस्थाको रूपमा विकास गर्न र संस्थागत सुदृढीकरणको पाटोमा महत्वपूर्ण कार्यहरू गरेको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।