चीनको सबैभन्दा ठूलो रियल स्टेट कम्पनी कन्ट्री गार्डेन धरासायी हुनबाट जोगियो

0
Shares

धरासायी अवस्थामा पुगेको चीनको सबैभन्दा ठूलो रियल स्टेट कम्पनी– कन्ट्री गार्डेनले आनशोर बन्ड लगानीकर्ता तथा ऋणदाताहरुबाट विश्वासको मत पाएको छ । यससँगै कम्पनी टाट पल्टिनबाट बचेको हो ।

ऋणदाताहरुले कम्पनीलाई विश्वासको मत खसाल्दै सेप्टेम्बर १ तारिखमा परिपक्व हुने अनशोर बन्डको भुक्तानी गर्ने अवधि तीन वर्षका लागि बढाएका छन् । यससँगै टाट पल्टिने अवस्थामा पुगेको कन्ट्री गार्डेन धरासायी हुनबाट जोगिएको हो । ऋणदाताहरुले बन्डको रकम भुक्तानी गर्ने समयावधि ३ वर्ष बढाएसँगै कम्पनीको सेयर बढेको छ ।

सन् २०२३ को जनवरी महिनादेखि हालसम्म कम्पनीको सेयरमूल्यमा ६० प्रतिशतको गिरावट आएको थियो । तथापि ऋणदाताहरुले ऋणको भुक्तानी अवधि बढाएसँगै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । चिनियाँ सरकारले रियल स्टेट क्षेत्र धरासायी हुनबाट जोगाउन ऋणको ब्याजदर घटाउने र सहरी क्षेत्रमा पहिलो घर खरिद गर्ने मानिसहरुका लागि न्यून बयाजदरमा ऋण प्रदान गर्ने नीति अघि सारेको छ । यस नीतिले उपभोक्ताको मन जित्ने र रियल स्टेट क्षेत्रमा मानिसहरुको रचि बढाउदा धरासायी भएको रियल स्टेट क्षेत्रले रिकभरीको लय समात्ने विश्वास ऋणदाताहरुको रहेको छ ।

ऋणदाताहरुले कुल ८ मध्येका ६ अनशोर बन्डहरुको भुक्तानी अवधि ३ वर्षले बढेको छ । १ अर्ब ४८ करोड डलर बराबरको अनशोर बन्डको भुक्तानी अवधि ३ वर्षले बढेको हो । कम्पनीले आगामी १२ महिनामा कुल १०८ अर्ब ७० करोड युवान बराबरको रकम भुक्तानी गर्न बाँकी रहेको तर कम्पनीसँग क्यास १०१ अर्ब १० करोड रहेको कम्पनीको पछिल्लो वित्तीय विवरणमा उल्लेख छ ।

हाल कम्पनीको अनशोर बन्ड भुक्तानीको समस्या समाधान भएता पनि कम्पनीले अफशोर बन्डको भुक्तानी गर्न सक्छ या सक्दैन भन्ने प्रश्न सिर्जना भएको छ । ३० दिनको ग्रेस अवधिका पाँच अफशोर बन्डहरु सेप्टेम्बर महिनामा परिपक्व हुँदै छन् । जसअन्तर्गत सेप्टेम्बर १७ मा १ करोड ५० लाख डलर बराबरको बन्ड र सेम्टेम्बर २७ मा ४ करोड डलर बराबरको बन्ड परिपक्व हुँदै छ । यदि कम्पनीले यी अफशोर बन्डको भुक्तानी नगरेमा चीनको रियल स्टेट क्षेत्रमा ठूलो धक्का पुग्नेछ । जसको प्रत्यक्ष प्रभाव चिनियाँ अर्थतन्त्रमा पर्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।