प्राधिकरणले कमजोरी औंल्याएको ह्याम्सको ‘हेलिप्याड’ सञ्चालनमा वडा अध्यक्षको अस्वभाविक सक्रियता

0
Shares

नेपाल नागरिक उड्यन प्राधिकरणले ह्याम्स अस्पतालको छतमा रहेको हेलिप्याडको सन्दर्भमा कमीकमजोरी औंल्याएको भएपनि पुनः सञ्चालनमा आउने देखिएको छ। ह्याम्स अस्पताल र बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ का अध्यक्ष सुमीत्रा त्रिपाठी पाण्डेको मिलेमोतोमा पुनः सञ्चालन हुन लागेको हो ।

२०७९ चैत २५ गते अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भयो । उक्त दुर्घटना पनि नागरिक उड्यन प्राधिकरणले अध्ययन गरेको थियो । प्राधिकरणको अध्ययनले पनि केही कैफियत देखाएको प्राधिकरणका एक अधिकारीले बताए । “अध्ययनका क्रममा सामान्य कैफियत देखिएको भएपनि पुनः सञ्चालन गर्न सकिने गरी प्रक्रिया अघि बढेको थियो,” ती अधिकारीले भने, “केही कैफियत भएकाले ढिला भएपनि प्राधिकरणबाट निर्णय भैसकेको हुनाले थप प्रक्रिया के भयो भन्ने जानकारी छैन ।”

प्राधिकरणले स्थानीय तहको सिफारिस लिन भन्दै हस्पिटललाई पत्राचार गर्यो । हस्पिटलले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ लाई हेलिप्याड सञ्चालनको सिफारिस माग्दै गत बैशाख २० गते पत्राचार गर्यो । उक्त पत्रका आधारमा वडा अध्यक्ष सुमीत्रा त्रिपाठी पाण्डेले अन्य प्रतिनिधिको सहमति बेगर नै सिफारीस गरेको वडा सदस्य श्याम कार्कीले बताए ।

अस्पतालले वडामा निवेदन दिएपछि गत बैशाख २७ गते उक्त विषयमा वडा समितिमा छलफल भएको कार्कीले बताए ।

“वडा समितिमा छलफल भएपनि सम्बन्धित अस्पताल, स्थानिय प्रतिनिधि तथा उपभोक्ताबीच छलफल गरेर मात्र सञ्चालन अनुमतिपत्र नवीकरण गर्ने सहमति भएको थियो,” उनले भने,“उक्त औपचारिक छलफल पछि कुनै पनि मिटिङ तथा छलफल नै नगरी वडा अध्यक्षले एकल निर्णय गर्दै अस्पतालको हेलिप्याड सञ्चालन अनुमतीपत्र नविकरण गर्ने गर्णय गर्नु भएको हो ।”

वडा समितिको छलफलमा विगतमा भएको दुर्घटनालाई मध्यनजर गर्दै आगामी दिनमा हुन सक्ने दुर्घटना न्यूनीकरण र दुर्घटनाका कारण हुने क्षतिको सम्पुर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने लिखित सहमति गरेर मात्र अनुमतीपत्र नवीकरण गर्ने सहमति भएको उनले बताए । तर, वडा अध्यक्षले भने अस्पतालको प्रभावमा परी अन्य प्रतिनिधिलाई जानकारी नगराई एकल निर्णय गर्दै हेलिप्याड सञ्चालनको बाटो खुला गरीदिएको उनको दाबी छ ।

अध्यक्षले प्राधिकरणलाई सम्बोधन गर्दै पठाएको सिफारीस पत्रमा समेत लिखित गराउने उल्लेख गरीएको भएपनि त्यसो नगरी सिफारिस पत्र दिइएको वडाका अन्य प्रतिनिधिको भनाई छ । अध्यक्षले दिएको सिफारीस पत्र अनुसार उक्त वडामा सञ्चालनमा रहेको ह्याम्स अस्पतालको घरको छतमा रहेको हेलिप्याड सञ्चालन अनुमतिपत्र नवीकरणका लागि निवेदन आएको हुँदा प्रचलित कानुनको प्रतिकुल नहुने गरी नवीकरणको सिफारिस गरिएको छ ।

साथै उक्त पत्रमा प्राधिकरणले बनाएका नीति नियमको पूर्ण पालना हुने लिखित शर्तमा सिफारिस पत्र दिएको बताइएको छ । सिफारिसपत्रमा समेत उल्लेख गरिएको लिखित शर्त भने अस्पतालसँग नगरीएको कार्कीको भनाई छ । हेलिप्याड सञ्चालनका कारण स्थानीय स्तरमा आउन सक्ने जोखिमको जिम्मेवारीबाट अस्पताललाई पन्छाउन वडा अध्यक्षले मूख्य भुमिका खेलेपछि स्थानीयहरुले समेत विरोध गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।