निक्षेप तथा कर्जा सुरक्षण कोषद्वारा ‘वाल्कथुन’ र ‘फाइभ के फन रन’ आयोजना

0
Shares

निक्षेप तथा कर्जा सुरक्षण कोष टंगालले आगामी असोज ४ गते कोष आफ्नो स्थापनाको गौरवमय ४९ वर्ष पूरा गरी ५० औं वर्षमा प्रवेश गर्दैछ ।

स्वर्ण वार्षिकोत्सवको यस ऐतिहासिक क्षणलाई सुखद र स्मरणीय बनाउन कोषले वाल्कथुन र फाइभ के फन रनको आयोजना गरेको हो । बैकिङ्ग अनुशासन सचेतनाका लागि कोषले वाल्कथुन र फाइभ के फन रनको आयोजना गरिएको कोषले जनाएको छ । स्वर्ण जयान्तीको अवसरमा उत्साहजनक ढंगले विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको कोषले जनाएको छ । कोषले स्वर्ण वार्षिकोत्सवको अवसरमा शुक्रबार क्विज आयोजना गरेको थियो ।

कोषले शनिबार आयोजना गरेको कार्यक्रममा राजश्व सचिव तथा कोषको सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद घिमिरे, नेपाल राष्ट्र बैंक डेपुटी गभर्नर बम बहादुर मिश्र र नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष सुनिल केसी मुख्य अतिथिको रुपमा उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरबाट शुरु गरिएको सो प्रतियोगिता को मार्ग कमलपोखरी, ज्ञानेश्वर, नक्शाल भगवती, टंगाल, गैह्रीधारा, लैनचौर, जमल, त्रिचन्द्र क्याम्पस हुँदै पुनः प्रज्ञा प्रतिष्ठानको परिसरमा आएर समाप्त भएको थियो । सहभागीहरुलाई हौसला प्रदान गरी कार्यक्रमलाई सफल बनाउन राजश्व सचिव डा. रामप्रसाद घिमिरे, डेपुटी गभर्नर बमबहादुर मिश्र तथा कोषका सञ्चालकहरु हुमबहादुर केसी, तुलसी प्रसाद घिमिरे र श्री प्रकाशजंग थापा समेत प्रतियोगितामा सहभागी थिए ।

कार्यक्रममा कूल ५०० जनाभन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो । बैंकिङ्ग सचेतना अभिवृद्धि गर्ने सम्बन्धमा सकारात्मक सन्देश प्रदान गर्ने उद्देश्यले लेखिएका “लिएपछि बैंकबाट ऋण – तिर्नै पर्छ कुनै न कुनै दिन“, “कर्जाको किस्ताब्याज समयै तिरौं-जिम्मेवार नागरिकको परिचय दिउँ“, “यति कुरा बुझौं है साथी-बैंकको ऋण हुँदैन माफी“ लगायतका वित्तीय सचेतनामूलक बिभिन्न नारा अंकित टि–सर्ट लगाई कार्यक्रममा सहभागी भएका थिए ।

त्यस्तै फाइभ के फन रन प्रतियोगितामा नेपाल आर्मी तथा नेपाल प्रहरीका धावकहरु लगायत अन्य व्यवसायिक धावक तथा इच्छुक सर्वसाधारणले समेत दौड प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । दौड प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल प्रथम, त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठ द्वितीय र त्रिभुवन आर्मी क्लबका श्रीकाश राई तृतीय भएका थिए । प्रथम स्थान हासिल गर्ने पालले १७ः५० मिनेटमा, द्वितीय स्थान हासिल गर्ने श्रेष्ठले १८ः१३ मिनेटमा र तृतीय स्थान हासिल गर्ने राईले १८ः३५ मिनेटमा तोकिएको दूरी पार गरेका थिए ।

त्यसैगरी महिला तर्फ २१ः ५० मिनेटमा दौड पूरा गरी नेपाल पुलिस क्लबका राममाया बुढा प्रथम, २१ः५७ मिनेटमा दौड पूरा गरी त्रिभुवन आर्मी क्लबका पूर्णलक्ष्मी न्यौपाने द्वितीय र २३ः०७ मा दौड पूरा गरी त्रिभुवन आर्मी क्लबकै सिर्जना पाण्डे तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने पुरुष तथा महिला धावकहरु दुबैलाई जनही १५ हजार रुपैयाँ, दोस्रो हुने पुरुष र महिला धावक दुबैलाई जनही १० हजार रुपैयाँ र तेस्रो हुने पुरुष तथा महिला धावक दुवैलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो
कोष सञ्चालक समितिका सदस्यहरु हुम बहादुर के.सी. तथा प्रकाशजंङ्ग थापाले संयुक्त रुपमा कोषको नयाँ नारा ऋण र धन दुवैको सुरक्षण सार्वजनिक गरेका थिए । कार्यक्रममा कोषको बारेमा तयार गरिएको गीत समेत सार्वजनिक गरिएको थियो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।