४ दिनमा सात अर्ब ३६ करोडको सेयर किनबेच, ३ दिनमा झण्डै ७० अंकले बढ्यो बजार


नीतिगत अस्थिरताका कारण कमजोर मनोबलमा रहेका सेयर बजारका लगानीकर्ता पछिल्लो २ दिनमा केही उत्साहित बनेका छन् । राष्ट्र बैंकले केही विषयलाई सुधार गर्ने अपेक्षामा मनोबल बलियो बनाएका लगानीकर्ताको सक्रियता बढेसँगै पछिल्ला ३ कारोबार दिनमा बजार परिसुचक नेप्से झण्डै ७० अंकले उकालो लागेको छ भने कारोबार रकममा पनि सुधार देखिएको छ ।

साता भरीमा कुल ४ दिन बजार खुलेको थियो । जसमा साताको पहिलो दिन आइतबार तिब्र गतिमा ओरालो लागेको बजार त्यस पछिका तीन दिन उही गतिमा उकालो लागेको छ । चार दिनको कारोबारमा ७ अर्ब ३६ करोड ९५ लाख ११ हजार ८९३ रुपैयाँको सेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार शेयर बजारमा साताको पहिलो दिन आइतबार कुल २७८ कम्पनीका ५६ लाख ५९ हजार चार सय ५८ कित्ता शेयर २ अर्ब २ करोड ८४ लाख ६५ हजार ६१० रुपैयाँमा किनबेच भएका छन् । आइतबार नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घटेर १ हजार ९६४ दशमलव ९१ अङ्कमा ओर्लिएको थियो ।

त्यस्तै दोस्रो दिन सोमबार नेप्से परिसूचक ४ दशमलव २६ अङ्कले उकालो लागेर एक हजार ९६९ दशमलव १८ अंकमा अडिएको थियो । यस दिन विभिन्न कम्पनीका कूल २८ लाख ७४ हजार २७५ कित्ता शेयर ८७ करोड ४ लाख ४४ हजार १५६ रुपैयाँमा खरिद बिक्री भएका थिए ।

कारोबारको तेस्रो दिन भने नेप्से दोहोरो अङ्कले बढेको थियो । यस दिनको अन्तिम कारोबारपछिको अवस्थामा परिसूचक १६ दशमलव २४ अङ्कले बढेर १ हजार ९८५ दशमलव ४३ अङ्क कायम भएको थियो । कूल दुई सय ७२ कम्पनीका ४३ लाख ३६ हजार ५८३ कित्ता शेयर ५० हजार २९६ पटक खरिद बिक्री हुँदा १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै यस साताको धितोपत्र कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक उत्साहजनक वृद्धि भएको थियो । यस दिन नेप्से परिसूचक ४४ दशमलव ३४ अङ्कले बढेर २ हजार २९ दशमलव ७८ अङ्कमा पुगेको थियो । यो दिन २७८ कम्पनीका १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता शेयर १ लाख १९ हजार ३५९ पटक खरिदबिक्री हुँदा ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँको करोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट यस अघिका केही विषयहरुलाई संशोधन गर्ने हल्ला चलेसँगै बजार एकाएक उकालो लाग्न थालेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।