विद्यालय निर्माणमा अनियमितता गर्ने ५ जनाविरुद्ध मुद्दा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक विद्यालयको भवन निर्माणमा अनियमितता गर्ने ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी लगायत ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

अख्तियारका अनुसार सिम्रौनगढ नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरुमध्ये सिम्रौनगढ नगरपालिका वडा नं. ८ कचोर्वास्थित जनता माविको भवन निर्माण कार्यमा ६ लाख ५८ हजार ४४० अनियमितता गरेका हुन ।

उनीहरुले प्राविधिकले तयार गरेको मूल्याङ्कन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको आयोगको भनाई छ । निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी ६ लाख ५८ हजार ४४० रुपैयाँ भुक्तानी दिएर सरकारी रकम हानिनोक्सानी गरेको अख्तियारको ठहर छ ।

सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीलाई ६ लाख ५८ हजार ४४० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

त्यस्तै, जनता माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरण देवी यादवले नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरी, भुक्तानीको लागि स्वीकृत भएको भन्दा बढी तथा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी ६ लाख ५८ हजार ४४० रुपैयाँ भुक्तानी समेत लिएको अख्तियारको भनाई छ । उनीहरुसंग पनि सोहि बराबर बिगो माग गरिएको आयोगले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।