रामेछापको मन्थलीबाट लुक्लाको लागि उडान सुरु


रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरु भएको छ । तारा, समिट र सीता एयरले विदेशी पर्यटकहरूका लागि आइतबारदेखि सोलुखुम्बुको लुक्लासम्म उडान भर्न थालेका हुन् ।

पर्यटकका लागि सिजन मानिने यस बेला एयरपोर्ट व्यस्त भई ट्राफिक जाम हुने भएपछि ती कम्पनीहरूले विदेशी पर्यटकहरूलाई मन्थली विमानस्थलसम्म गाडीमा ल्याएर मन्थलीबाट सोलुको लुक्लाका लागि उडान भर्न लागेका हुन् ।

यसअघि विभिन्न कारण दुई वर्षदेखि थलिएर भर्न नसकेका वायुसेवा कम्पनीहरूले यस वर्ष बेलैदेखि उडान भर्न लागेका हुन् । यो पर्यटकहरूको सिजन भएकाले दैनिक रूपमा मौसमले साथ दिएसम्म पर्याप्त उडान भर्ने योजना रहेको कम्पनीहरूले बताएका छन् ।

काठमाण्डौंबाट नजिक रहेको यस एयरपोर्टमा साना विमानस्थलहरूका लागि हवाई इन्धन सहितको व्यवस्था भएको पूर्वी क्षेत्रकै एकमात्र विमानस्थल भएकाले इमर्जेन्सी विमान अवतरण लागिसमेत रामेछाप विमानस्थल उपयोगी मानिएको छ । तर नजिकको दूरीमा रहेर पनि रामेछाप–काठमाण्डौंको नियमित उडान भने कुनै कम्पनीहरूले पनि गर्न सकेका छैनन्, स्थानीय प्रशासन र सङ्घीय तथा प्रदेश सांसदहरूको पहलमा ती कम्पनीहरूले नियमित उडान भर्ने सहमति गरी कार्य तालिका नै प्रकाशन गरे पनि यात्रु अभाव देखाउँदै उडान भरेका छैनन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।