सरकारको कूल सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण ७९ हजार

0
Shares

चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा सरकारको कूल सार्वजनिक ऋण साढे २३ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको २ महिनाको अवधिमा सरकारको कुल सार्वजनिक ऋण ४९ अर्ब २३ करोड थपिएको छ ।

अर्थ मन्त्रालय अन्तर्गत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म नेपालको कूल सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

भदौ मसान्तसम्मको सार्वजनिक ऋण प्रतिव्यक्ति दायित्वका हिसावले ७९ हजार २०१ रुपैयाँ पुगेको छ । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ।

भदौ मसान्तसम्म सरकारले ११ खर्ब ४० अर्ब ५३ करोड आन्तरिक ऋण तथा ११ खर्ब ६९ अर्ब ३३ करोड बाह्य ऋण लिएको छ । गत असार मसान्तसम्म नेपालको ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको २ महिना अर्थात साउन र भदौमा सरकारले ४९ अर्ब २३ करोड सार्वजनिक ऋण लिएको छ । जसमध्ये ४४ अर्ब २६ करोड आन्तरिक तथा ४ अर्ब ९७ करोड बाह्य ऋण लिएको छ । सरकारले साउन महिनामा १३ अर्ब ६ करोड र भदौ महिनामा ३१ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।

सरकारले पछिल्लो २ महिनामा आन्तरिक ऋणको साँवा ब्याजतर्फ ४१ अर्ब ६१ करोड भुक्तानी दिएको छ। साउनमा २५ अर्ब ८४ करोड ६९ लाख रूपैयाँ र भदौमा १५ अर्ब ७६ करोड ५३ लाख रूपैयाँ भुक्तानी दिएको हो । साउन र भदौमा आन्तरिक ऋणको साँवातर्फ कुल ३२ अर्ब ८३ करोड र ब्याजतर्फ ८ अर्ब ७८ करोड रूपैयाँ भुक्तानी गरेको छ।

यस्तै सरकारले ८ अर्ब १७ करोड रूपैयाँ बराबरको वैदेशिक ऋणको साँवा ब्याज भुक्तानी गरेको छ। साउनमा १ अर्ब ९० करोड र भदौमा ६ अर्ब २६ करोड वैदेशिक ऋणको साँवा ब्याज भुक्तानी दिएको कार्यालयले जनाएको छ। यस अवधिमा वैदेशिक ऋणको साँवातर्फ ५ अर्ब ८८ करोड र ब्याज दायित्वतर्फ २ अर्ब २८ करोड रूपैयाँ भुक्तानी गरिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।