वित्तीय प्रणालीको निक्षेप हालसम्मकै उच्च, ३३ अर्ब निक्षेप थपिँदा ५३ अर्ब कर्जा प्रवाह

0
Shares

बैंक तथा वित्तीय संस्थाको निक्षेप हालसम्मकै उच्च पुगेको छ । बैंकहरुले स्थानिय तहको पैसालाई पनि निक्षेप गणना गर्न पाएसंगै वित्तीय प्रणालीको कुल निक्षेप हालसम्मकै उच्च ५८ खर्ब ६ खर्ब पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार यो साताको आइतबार मात्रै वित्तीय प्रणालीमा १४ अर्ब निक्षेप थपिएको छ । उक्त निक्षेप थपिएसंगै प्रणालीको कुल निक्षेप ५८ खर्ब भन्दा माथि पुगेको हो । बैंकहरुले निक्षेप तान्नका लागि ब्याजदर बढाउने, सरकारी पैसालाई निक्षेपमा गणना गर्न पाउने तथा कर्जा लगानी विस्तार हुन नसकेपछि वित्तीय प्रणालीमा निक्षेप थुप्रिने क्रम बढेको हो ।

असोज महिनामा निक्षेप तान्न तथा भएको जोगाउन भन्दै आधा दर्जन बैंकहरुको ब्याजदर बढाए । अर्थतन्त्रमा देखिएको मन्दीका कारण कर्जाको माग बढ्न नसकेको अवस्थामा बैंकहरुले ब्याजदर बढाउँदा झनै नकारात्मक असर परेका कारण कर्जाको माग बढ्न सकेन ।

केन्द्रीय बैंकका अनुसार असोज १४ गते आइबारसम्ममा वित्तीय प्रणालीमा कुल निक्षेप ५८ खर्ब ६ अर्ब पुगेको छ । सो दिन बैंक वित्तीय संस्थाको कुल कर्जा ४९ खर्ब ३२ अर्ब रहेको छ । यसभन्दा अघि गत असार ३० गते वित्तीय प्रणालीको कुल निक्षेप ५७ खर्ब ६७ रहेको थियो । सो दिन बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ७९ अर्ब रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको सुरुवाती देखि यहि असोज १४ गतेसम्ममा कर्जा तथा निक्षेपमा निकै उतारचढाव देखिएको भएपनि गत असार ३१ गतेको तुलनामा निक्षेप मात्रै ३३ अर्बले बढेको छ । तर, कर्जा लगानी भने ५३ अर्बले बढेको छ । यो तथ्याङकलाई हेर्दा बैंकहरुको कर्जा लगानी केही विस्तार भएको देखिन्छ । चालु आर्थिक वर्षको कर्जा निक्षेपलाई मात्र हेर्दा निक्षेप भन्दा २० अर्ब रुपैयाँ धेरै कर्जा लगानी भएको छ । तरपनि बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात ८२ प्रतिशतको हाराहारीमा छ ।

यो साताको पहिलो दिन आइतबारसम्ममा वाणिज्य बैंकहरुको मात्रै निक्षेप ५१ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ । विकास बैंक तथा फाइनान्स कम्पनीहरुको ६ खर्ब ८२ अर्ब रहेको केन्द्रीय बैंकले जनाएको छ । सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४३ खर्ब ६८ अर्ब रहेको छ भने अन्य वित्तीय संस्थाको कर्जा लगानी ५ खर्ब ६४ अर्ब पुगेको छ । वित्तीय प्रणालीमा निक्षेप बढेसंगै औसत अन्तर बैंक ब्याजदर समेत २.५२ प्रतिशतमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।