होटल क्राउन इम्पेरियलको आम्दानी ८४% ले बढ्यो, पायो बी प्लस रेटिङ

0
Shares

काठमाडौँको रविभवनमा अर्किड होल्डिङ्सले सञ्चालन गरिरहेको होटल क्राउन इम्पेरियलको सञ्चालन आम्दानीमा आकर्षक वृद्धि देखिएको छ ।

होटलको वार्षिक सञ्चालन आम्दानी ८४.८४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा ६ करोड ६० लाख सञ्चालन आम्दानी गरेको होटलले आर्थिक वर्ष २०७९/८० मा १२ करोड २० लाख सञ्चालन आम्दानी गरेको हो ।

होटलले ५८ प्रतिशत आम्दानी कर्पोरेट हाउसहरुको बैठक, कन्फेरेन्स, एक्जीभिसन र इन्सेन्टीभ मार्फत गरेको छ र ४० प्रतिशत रुम लजिङ र सर्भिस मार्फत गरेको छ । होटलको आम्दानीमा भएको वृद्धिसँगै होटलका अन्य वित्तीय सूचांकमा पनि सुधार देखिएको छ ।

अघिल्लो आवमा ऋणात्मक रहेको होटलको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा आव २०७९/८० मा कुल सञ्चालन आम्दानीको १०.५८ प्रतिशत पुगेको छ ।

सन् २००७ मा स्थापना भएको कम्पनी सन् २०२२ मा प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा परिणत भएको छ । यसै क्रममा होटलको वित्तीय सूचांक र भावी सम्भाव्यताका आधारमा रेटिङ एजेन्सी केयर नेपालले बी प्लस रेटिङ गरेको छ । आगामी समयमा होटल क्राउन इम्पेरियलले सार्वजनिक निष्काशन गर्ने सम्भावना रहको छ ।

कुल ९ हजार १३६ वर्ग मिटर जग्गामा निर्माण भएको होटलमा कुल १३१ वटा कोठा रहेका छन् । यस होटला एशियन लाइफ इन्स्योरेन्स कम्पनीको अधिकतम ४३.१९ प्रतिशत सेयर हिस्सा रहेको छ । होटलका प्रबन्ध निर्देशक सुधीरमान मास्के हुन् । उनले होटल तथा हस्पीटालिटी क्षेत्रमा विगत २७ वर्षदेखि निरन्तर काम गर्दै आएका छन् ।

काठमाडौँका विभिन्न क्षेत्रलाई युनेस्कोमा सूचीकरण गरिएको छ । काठमाडौँ उपत्यका धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र भएका कारण यहाँ घुमघामका आउने पर्यटकहरुको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको छ । यस कारण आगामी समयमा होटलको आम्दानीमा सुधार आउने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।