श्रीलङ्काको केन्द्रीय बैङ्कले अक्टोबरमा घटायो नीतिगत ब्याजदर

0
Shares

श्रीलङ्काको केन्द्रीय बैंकको मौद्रिक बोर्डले स्थायी सुविधाअन्तर्गतको  निक्षेप र कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ । 
 
केन्द्रीय बैंकले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्थायी निक्षेप सुविधाको ब्याजदर र स्थायी कर्जा सुविधाको ब्याजदर एक सय आधार विन्दुमा क्रमशः १० र ११ प्रतिशतले घटाएको जनाएको छ ।
 
सेन्ट्रल बैंक अफ श्रीलङ्काले बुधबार बसेको मौद्रिक बोर्डको बैठकमा उक्त निर्णय लिइएको उल्लेख गरेको छ । 
 
मुद्रास्फीतिलाई मध्यकालीन अवधिमा परिकल्पना गरिएको पाँच प्रतिशतको स्तरमा स्थिर बनाउने लक्ष्यसँगै घरेलु अर्थतन्त्रमा कम मुद्रास्फीति बनाउने अपेक्षासहित मौद्रिक बोर्डले वर्तमान र अपेक्षित घटनाक्रमको विश्लेषण गरी यस्तो निर्णय लिएको केन्द्रीय बैंकले जनाएको छ । यो निर्णयले अर्थतन्त्रको सम्भावित वृद्धिलाई सक्षम बनाउने अपेक्षा गरिएको छ ।  
 
यसअघिको मौद्रिक नीतिलाई उल्लेखनीयरूपमा खुकुलो बनाएसँगै नीतिगत ब्याजदरमा गरिएको यो कटौतीले आगामी दिनमा बजार ब्याजदर विशेषगरी कर्जा दरहरूलाई कम गर्न गति प्रदान गर्ने अपेक्षा गरिएको छ । 
 
मौद्रिक अवस्थाको निरन्तर सहजताको लाभ व्यक्ति र व्यवसायहरूलाई पर्याप्त र द्रुतरूपमा हस्तान्तरण गर्न केन्द्रीय बैंकले वित्तीय क्षेत्रलाई आग्रह गरेको छ ।  
 
खाद्य तथा गैरखाद्य दुवै मुद्रास्फीतिमा भएको गिरावटका कारण मुद्रास्फीतिको वार्षिक आधारमा कोलम्बो उपभोक्ता मूल्य सूचकाङ्क सेप्टेम्बर महिनामा लक्ष्यभन्दा कम एक दशमलव तीन प्रतिशतले झरेको केन्द्रीय बैंकले जनाएको छ । 
 
श्रीलङ्काले बढ्दो मुद्रास्फीतिको सामना गर्न सन् २०२२ मा उसको ब्याजदरलाई उल्लखनीयरूपमा बढाएको थियो । सन् २०२३ मा उक्त ब्याजदरलाई दुई पटक घटाइएको थियो । 
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।