सेयर लगानीकर्ता ज्ञान अभिवृद्धि गर्न धितोपत्र बोर्ड र एनएनसीसीआईबीच सहकार्य

0
Shares

नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच पुँजी बजार सम्बन्धी ज्ञान तथा जनचेतना अभिवृद्धिका लागि लगानीकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । पुँजी बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गरी सुसूचित एवं विश्वसनीय धितोपत्र बजार विकास गर्ने उद्देश्यले विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा असोज १८ गते महासंघमा आयोजित एक कार्यक्रममा उक्त समझदारी भएको हो ।

समझदारीपत्रमा बोर्डका अध्यक्ष रमेश कुमार हमाल र महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बोर्डका अध्यक्ष हमालले समझदारीका लागि महासंघलाई धन्यवाद ज्ञापन गर्दै वित्तीय साक्षरता अभिवृद्धिमा एक कोसेढुंगा सावित हुने बताए । धितोपत्र बजारमा लगानी तथा जोखिम सम्बन्धी जनचेतना अभिवृद्धि हुने उनको भनाई थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष ढकालले महासंघको सञ्जाल देशव्यापी रहेको र उक्त सञ्जाल मार्फत धितोपत्र बजार सम्बन्धी ज्ञान अभिवृद्धिमा विशेष योगदान गर्न सकिने बताए । करिब ५९ लाख लगानीकर्ता रहेको धितोपत्र बजार विकासमा सरकार सम्वेदनशील हुनुपर्ने ढकालको भनाइ थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य दिने क्रममा महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले धितोपत्र बजारमा लगानीकर्ताको सहभागिताको अवस्थालाई हेर्दा बजार सम्बन्धी ज्ञान बढाउनुपर्ने आवश्यकता देखि समझदारी गर्ने प्रकृया अगाडि बढाईएको बताए । यस्तै महासंघ उपाध्यक्षद्धय हेमराज ढकाल र ज्योत्स्यना श्रेष्ठले पूँजी बजार विस्तारमा यस समझदारीले सहयोग पुग्ने बताए । साथै कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक तथा विश्व लगानीकर्ता सप्ताह २०२३ सञ्चालन समितिका संयोजक डा. नवराज अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा लगानीकर्ताहरुलाई धितोपत्र बजारमा लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुतिका लागि बोर्डका निर्देशक रेवत श्रेष्ठले लगानीको जोखिम र अवसरबारे जानकारी गराएका थिए । कार्यक्रममा महासंघका पदाधिकारी, बोर्डका पदाधिकारी, लगानीकर्ता संघ संस्थाका प्रतिनिधि जिल्ला नगर उद्योग वाणिज्य संघका पदाधिकारी तथा वस्तुगत संघका पदाधिकारी, धितोपत्र व्यवसायी संघ संस्थाका पदाधिकारीको उपस्थिति थियो ।

हाल नेपालमा धितोपत्र बजारमा आवद्ध डिम्याट खाता लिने लगानीकर्ताको संख्या ५९ लाख ४८ हजार भन्दा बढी पुगिसकेको छ । धितोपत्र बजारलाई सुसूचित एवं विश्वसनीय बनाउन लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यलाई निरन्तर रुपमा सञ्चालन गर्नु अपरिहार्य भएको औंलाइएको छ । यस्तो अवस्थामा बोर्ड तथा महासंघसँग बीच भएको समझदारीले दीघकालीन रुपमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि सञ्चालन भई धितोपत्र बजारमा सुसूचित लगानीमार्फत बजारमा स्थायित्व अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।