
भिजन सेक्युरिटिज् प्रालिले विश्व लगानी सप्ताह २०२३ को अवसरमा असोज २० गते शनिबार होटल उग्रचण्डी बनेपा–७ काभ्रेपलान्चोकमा एकदिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल धितोपत्र बोर्ड तथा स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको सहजिकरणमा ब्रोकर नम्बर ३४, भिजन सेक्युरिटीजले लगानीकर्ताहरुसँग साक्षात्कार कार्यक्रम आयोजना गरेको हो । धितोपत्र बजारको विकास र विस्तारमा निरन्तर लागिरहेका तथा चितवन क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हरि ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि ढकालले धितोपत्र बजार विकास, विस्तार र स्थायीत्वको लागि विगत देखि नै आफू लागि परिरहेको र हाल संसदको भूमिका रहँदामा समेत धितोपत्र वजार सम्वन्धी विषयवस्तुहरु सदनमा राख्ने गरेको बताए । लगानीकर्ताहरुले सामाजिक सञ्जालमा आउने नकारात्मक टिप्पणीहरुलाई वेवास्ता गर्दै स्वःविवेक प्रयोग गरि धितोपत्र बजारमा लगानी गर्न सुझाव दिनुका साथै सम्पूर्ण लगानीकर्ताहरुबाट सकारात्मक सुझावको अपेक्षा रहेको बताए ।
नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा नेपाल धितापत्र बोर्डका सञ्चालक सुरकृण वैद्यले नीतिगत स्थायित्व नभएका कारण व्यवसायी पलायन हुनुपरेको, धितोपत्र बजारको विकास र विस्तारमा मुद्रा बजारको नियामक निकाय नेपाल राष्ट्र बैंक र पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबीच समन्वयकारी सम्वन्ध हुनुपर्ने र पुँजी बजारलाई उत्पादन मुलक क्षेत्रमा राखिनुपर्ने धारणा व्यक्त गरे ।
यसैगरि नेपाल धितोपत्र बोर्डका निर्देशक विनय जस्पाउले सम्बन्धीत सरोकार पक्षहरुसँग सहकार्य गर्दै लगानीकर्ता सचेतना अधिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने भनाई राखे । बनेपा नगरपालिकाका कार्यवाहक प्रमुख हिटलर शाक्यले धितोपत्र बजार सम्वन्धी जानकारी मुलक कार्यक्रमको आयोजना गरि यस क्षेत्रका लगानिकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेकोमा आयोजक तथा सम्वन्धीत पक्षलाई धन्यवाद दिए ।
उक्त कार्यक्रममा नेपाल धितापत्र बोर्डका का.मु. निर्देशक राजाराम दुवालले धितोपत्र बजार सम्वन्धी हाल कार्यनवयनमा रहेका नीति नियमहरु सहित धितोपत्र बजारको सम्वद्ध पक्षहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने धितोपत्र बजार विज्ञ तथा विश्लेषक सुवास चन्द्र भट्टराईले लगानीकर्ताहरुले बजारको विभिन्न चरणमा गर्ने गल्तिहरु सहित व्यवहारिक पक्षलाई समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाल धितोपत्र बोर्डले विश्व लगानी सप्ताह– २०२३ को अवसरमा मुलुकभरका लगानीकर्ताहरुलाई सम्बन्धित क्षेत्रको ज्ञान तथा सचेतना अभिवृद्धि गर्न ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर लगायत सम्वद्ध सरोकारवाला संस्थाहरुलाई शाखा विस्तार भएको स्थानहरु तथा सम्भावित क्षेत्रमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गर्न आव्हान गरेको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष तथा नेपाल धितोपत्र बोर्डका सञ्चालक सुर कृष्ण बैद्य, नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठ, नेपाल धितोपत्र बोर्डका निर्देशक विनय जस्पाउ, बनेपा नगरपालिकाका कार्यवाहक प्रमुख तथा वडा नं. ७ का अध्यक्ष हिटलर शाक्य, विशिष्ट अतिथि तथा काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोकेज्यू, नेपाल धितोपत्र बोर्डका का.मु. निर्देशक राजाराम दुवाल, धितोपत्र बजार विज्ञ सुवास चन्द्र भट्टराई नेपाल अडिटर्स एशोसिएसन काभ्रेका अध्यक्ष विकास पन्त, कम्प्युटर्स एशोसिएसन काभ्रेका अध्यक्ष रामचन्द्र न्यौपाने लगायत अन्य संघ संस्थाका प्रमुखहरु अतिथिको रुपमा उपस्थिति थियो । कार्यक्रममा व्यवसायी तथा धितोपत्र बजारसँग सम्वन्धीत व्यक्तित्वहरु सहित लगभग ३२५ जना लगानिकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापती तथा भिजन सेक्युरिटिज् प्रालिका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले उत्साहपूर्ण रुपमा सहभागिता जनाएकोमा लगानीकर्ताहरु तथा अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा नियामक निकाय, उद्योग वाणिज्य संघ तथा विभिन्न संघ–संस्थाहरुसँग सहकार्य गर्दै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
