विश्वकप छनोट अन्तर्गत नेपाल भोलि लाओससँग प्रतिस्पर्धामा उत्रँदै, राम्रो नतिजा पस्कने नेपाली पक्षको दाबी


नेपालले विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा भोलि असोज २५ गते बिहीबार लाओससँग प्रतिस्पर्धा गर्दैछ ।

खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले यो खेलका लागि आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास गरेको बताएका छन् । यो खेल आफ्नो पनि पहिलो विश्वकप छनोट भएकाले आफ्नो लागि पनि अवसर भएको उनले बताए ।

राष्ट्रिय टीमका कप्तान किरण चेम्जोङले भोलिको खेलमा उत्कृष्ट प्रस्तुती दिने बताउँदै चैतमा भएको त्रिदेशीय कपमा जस्तो नहुने बताए । उनले भने, ‘खेलअघि हामी सँगै मिलेर राष्ट्रिय गान गाऔँ । खेलको अन्तिम समयसम्म पनि रातो र चन्द्र सूर्यको धुनमा रंगशाला गुन्जिरहोस् । रंगशालामा घन्कने समर्थकहरूको आवाज नै हामी खेलाडीको ऊर्जाको स्रोत हो ।  यस पटक नेपाललाई जिताउनका लागि आफूहरुले लामो तयारी गरेको उनको भनाई छ । घरेलु दर्शक १२ औं खेलाडीका रुपमा खेलमा हुने भन्दै भोलिको खेललाई भव्य बनाउन दर्शकहरुलाई आग्रह गर्दै उनले भने,“विश्वकप छनोट खेलका लागि हामीले गतिलो तयारी गरेका छौं । टोलीमा राम्रो तालमेल छ । प्रशिक्षक र खेलाडीबिचको तालमेल पनि गतिलो छ।”  चैतमा भएको त्रिदेशीय समूह चरणमा २–० ले जितेको नेपालले फाइनलमा २–१ को जित हात पारेको थियो ।

यता नेपाल र लाओसबीच हुने फिफा विश्वकप फुटबल छनोट खेलको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । प्रतियोगिताको संयोजकको दीपक खतिवडालाई दिएको छ । यसअघि वीरबहादुर खड्कालाई दिइएको संयोजकको जिम्मेवारी खोसेर एन्फाले खतिवडालाई दिएको हो । जिम्मेवारीबापत प्राप्त रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने खतिवडाले बताएका छन् ।

एन्फाले खेलको टिकट साधारण प्यारापिटतर्फको टिकट मूल्य ३०० रुपैयाँ र भीआईपी प्यारापिटको ५०० रुपैयाँ तोकेको छ । प्रतियोगिता सञ्चालन गर्न ७३ लाख ६८ हजार लाग्ने अनुमान एन्फाको छ । एन्फाले टेन्डर आहृवान नै नगरी कमर्सियल र मिडिया राइट १५ हजार अमेरिकी डलरमा सिंगापुरको कम्पनी स्पोट्र्स फाइभलाई बेचेको जनाएको छ ।

नेपाल र लाओसबीचको खेल असोज २५ गते साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ । विश्वकप छनोटको पहिलो चरणको खेलमा जित निकाल्दै अर्को चरणमा प्रवेश गर्ने नेपालको लक्ष्य छ । फिफा वरियतामा लाओस १८६ औं स्थानमा रहेको छ भने नेपाल १७५ औं स्थानमा रहेको छ।लाओससँगको खेलमा विजयी भएमा नेपाल दोस्रो चरणमा प्रवेश गर्नेछ ।

लाओसविरुद्धको खेलका लागि घोषित नेपाली टोलीमा किरणकुमार लिम्बु, दीपक कार्की, अभिषेक बराल, सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिषरत्न छुन्जु, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, गिलेस्पीजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ असोज २०८०, बुधबार १३ : ३९ बजे