सेयर बजार मापक सूचक नेप्से बिहीबार पनि २० अंकभन्दा बढीले ओरालो लागेको छ । सेयर कर्जाको व्यवस्थाप्रति लगानी असन्तुष्ट हुँदा गत बिहीबारदेखि घट्न थालेको नेप्सेमा बुधबार ५ अंकको समान्य बढोत्तरी आएपनि अन्यदिनहरुमा बजारको यात्रा निरन्तर ओरालो नै कायम भएको हो ।
बिहीबार लगानीकर्ताले दशैं खर्चको लागि रकम जोहो गर्दा बजार सूचक २०.१६ अंकले घटेर १९७४.६० बिन्दुमा अडिएको छ । कारोबार रकम एक अर्ब ७० करोड १ लाख २९ हजार ८१५ रुपैयाँ पुगेको छ । यसदिन २९२ कम्पनीका ७५ लाख ५८ हजार ५४२ कित्ता सेयर ६२ हजार ४६ वटा संख्यामा खरिद बिक्री भएको छ । अघिल्लो दिन बुधबार २८६ कम्पनीका ३७ लाख ३३ हजार ५२४ कित्ता सेयर १ अर्ब ८ करोड ८५ लाख ४७ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । बुधबारको तुलनामा कारोबार रकम ६१ करोड १६ लाख रुपैयाँले बढेको छ ।
राष्ट्र बैंकको एकीकृत निर्देशन मार्फत सेयर कर्जाको सीमा वृद्धि भएपनि उच्च अंकको गिरावट आउनुले लगानीकर्तामा भने चरम असन्तुष्ट रहेको प्रस्ट हुन्छ ।राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशनलाई संसोधन गर्दै सेयर बजारसँग सम्बन्धित सेयर धितो कर्जामा लागू क्यापलाई व्यक्तिगततर्फ ३ करोड वृद्धि गरेर १५ करोड र संस्थागततर्फ ८ करोड वृद्धि गरी २० करोड कर्जा सीमा पुर्याएको थियो ।
लामो समयदेखि लगानीकर्ताले मार्जिन कर्जामा लागू एकल ग्राहक कर्जा उक्त सीमा हटाउन माग गर्दै आएका थिए । विद्यमान व्यवस्थामा केही वृद्धि भएपनि क्याप नहटेपछि बजारमा गिरावटको श्रृङ्खला कायम नै रहेको हो । पुँजी बजारका लगानीकर्ताको मनोबल बढाउन भन्दै सेयर धितो कर्जासम्बन्धी व्यवस्था केही खुकुलो बनाइए पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा पर्न सकेको छैन । यद्यपि सेयर धितो कर्जाको सीमा बढ्दा त्यसको सकारात्मक प्रभाव बजारमा देखिने अनुमान गरिएको थियो ।

बिहीबार कारोबारमा आएका म्युचुअल फन्ड बाहेक सबै उपसमुहगत सूचक ऋणात्मक बने । होटल तथा पर्यटनमुलक सर्वाधिक प्रतिशतले घट्दा जलविद्युत १.५९,निर्जीवन बीमा १.५२, फाइनान्स १.४१, जीवन बीमा १.४० र विकास बैंकको इन्डेक्स १.२३ प्रतिशतले घटेको छ । बाँकी १ प्रतिशतभन्दा धेरैले घटेका छन् ।
कारोबार रकमका आधारमा यस दिन सनराइज लक्ष्मी बैंकको संस्थापक सेयरको उच्च कारोबार भएको छ । बैंकको १६ करोड ३८ लाख ४८ हजार रुपैयाँ बराबरका १६ लाख ३८ हजार ४८४ कित्ता सेयर कारोबार भएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ कोड ४ लाख, नेपाल एसबिआई बैंक ४ करोड १९ लाख, सिद्धार्थ बैंकको ३ करोड ९० लाख र शिवम् सिमेन्ट्सको ३ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बिहीबारदेखि दोस्रो बजारमा कारोबार खुला भएको भगवति हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । भगवतिको सेयर मूल्य १० प्रतिशत अर्थात ३६ रुपैयाँ १० पैसाले बढेर ३९७ रुपैयाँ २० पैसा पुगेको छ । यस्तै मिड सोलुको सेयर मूल्य १० प्रतिशत अर्थात ३० रुपैयाँले बढेर ३३० रुपैयाँ पुगेको छ । हाथवेइन्भेष्टमेन्टको ९.८८ प्रतिशत अर्थात ३१ रुपैयाँ ३० पैसाले बढेर ३४५ रुपैयाँमा कारोबार बन्द भएको छ । एनआईबिएल ग्रोथ फन्डको इकाईमूल्य ९.९५ प्रतिशत र सानिमा ग्रोथ फन्डको ९.९४ प्रतिशत, सयपत्री हाइड्रोपावरको ९.९३ प्रतिशत, मान्डू हाइड्रोपावरको ७.२१ प्रतिशत र सानिमा लार्ज क्याप फन्डको इकाईमूल्य ५.७७ प्रतिशतले बढेको छ ।
बिहीबार गुमाउनेमा सिटि होठल शीर्ष स्थानमा रहेको छ । होटलको सेयरको भाउ ९.०९ प्रतिशत घटेर ५८५ रुपैयाँमा झरेको छ । यसैगरी बाराही हाइड्रोपावरको सेयर मूल्य ८.१९, बलेफी हाइड्रोपावरको ८.०५ प्रतिशत, ११% एनआईसी एशिया डिबेञ्चर २०८२÷८३ को ७.७४ र प्रोगेशिभ फाइनान्सको मूल्य ६.९८ प्रतिशतले घटेको छ ।
बिहीबारको गिरावटपछि समग्र बजार पुँजीकरण २८ खर्ब ७२ अर्ब ९ करोड ९७ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो कारोबार दिन बुधबार बजार पुँजीकरण २८ खर्ब ९० अर्ब ५ करोड ३२ लाख रुपैयाँ थियो । आज मात्रै १७ अर्ब ९५ करोड रुपैयाँले बजार पुँजीकरण घटेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
