ब्रोकर नम्बर ८६, स्टकस्कार्टसले सुरु गर्यो सेयर कारोबार, अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने


नयाँ सेयर दलाल व्यवसायीहरुले एक पछि अर्को गर्दै सेवा दिन थालेका छन् । यस क्रममा सेयर दलाल नम्बर ८६ ले पनि सेयर कारोबार सेवा सुरु गरेको छ । दलाल नम्बर ८६, स्टकस्कार्टस सेक्युरिटिज लिमिटेडले मंगलबारदेखि सेवा सुरु गरेको हो ।

बुधबार स्टकस्कार्टसले आफ्नो पहिलो वार्षिकोत्सव समेत मनाएको छ । स्थापना भएको एक वर्ष पछि मात्र सेवा सुरु गर्न समर्थ भएको कम्पनीका कार्यकारी अध्यक्ष सुवास न्यौपानेले बताए । लाइसेन्स प्रकृयाले पुर्णता पाउन समय लाग्नुका साथै निक्षेप सदस्यको सेवा पनि एकै पटक सुरु गर्दा केही ढिला भएको उनको भनाई छ ।

न्यौपानेका अनुसार केही दिनमा नै कम्पनीले आफ्नो वेबसाइट स्टक्सकार्टस डटकम डट एनपीबाट कारोबार खाता, डिम्याट खाताका साथै केवाइसी लगायतका सेवा सुरु गर्नेछ । कम्पनीको वेबसाइटबाट सबै सेवा एकै पटक उपलब्ध गराउँदा सेवाग्राहीलाई सजिलो हुने बताएका उनले प्राविधिक काम पुरा भईसकेको र वेबसाइट लाइभ हुने अन्तिम तयारी चलिरहेको जानकारी दिए ।

काठमाण्डौंको डिल्लीबजारमा कार्यालय रहेको स्टकस्कार्टसलाई नेपाल धितोपत्र बोर्डले गत साउन महिनामा सञ्चालन अनुमति दिएको थियो । नेपाल स्टक एक्सचेञ्जले पुर्वाधार तथा अन्य पक्षको अनुगमन गरी गत बिहीबार कारोबार सुरु गर्न अनुमति दिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।