
मानवसेवा आश्रमले 'यसपालिको चाड पर्वमा कोही नरहुन् सडकमा' भन्ने नारा सहित शुभारम्भ गर्न लागको मेचि महाकाली उद्धार यात्राको प्रधानमन्त्रीले आज उद्घाटन गर्दैछन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ४ बजे हुने एक औपचारिक कार्यक्रमबीच यात्रीहरुलाई प्रधानमन्त्रीले विदाई गर्ने कार्यक्रम रहेको छ । ३८ दिन हुने उक्त यात्रामा यात्रीहरु मेचिदेखि महाकालीसम्म पुग्नेछन् । यस यात्राको क्रममा करिब ३ सय जनासम्मको उद्धार गर्ने लक्ष्य यस संस्थाले लिएको छ ।
यात्राको सम्पूर्ण खर्च गायिका एवं समाजसेवी आनी छ्योइङ डोल्माले गर्नेछिन् । कार्यक्रममा गृहमन्त्री नारायण काजी श्रेष्ठ, सामाजिक विकास मन्त्री सुरेन्द्र आचार्य, मानवसेवा आश्रमका सद्भावनादूत एवं बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरीवंश आचार्य लगाएत मानवसेवा आश्रमका अभिभावक, शुभेच्छुक, सहयोगीहरुको उपस्थिति रहनेछ । साथै, समाजसेवी–गायिका आनी छ्योइङ डोल्मा यात्रीकै रुपमा अभियानभर यात्रा गर्नेछिन् ।
सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउन विवश सहयोेगापेक्षी (बेसहारा, असहाय, अशक्त, अनाथ, शारिरीक तथा मानसिकरुपमा कमजोर) मानवमुक्त राष्ट्र नेपाल निर्माण, घोषणा र त्यसको कार्यान्वयनको लक्ष्य तय गरेको मानवसेवा आश्रमले सातै प्रदेशको १९ जिल्लामा २४ सेवाकेन्द्रहरु सञ्चालन गरी ७७ ओटै जिल्लाबाट सहयोगापेक्षीहरुको उद्धार, उपचार, पालनपोषण एवं सम्भव भएकाहरुको पारिवारिक पुनर्मिलन लगायत कार्य गर्दै आइरहेको छ ।
यस यात्राले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लागि आधार तय हुने, जनजनमा मानवीय भावनाको विकास हुने तथा जोखिममा रहेका नागरिकको उद्धार र संरक्षणको लागि सरोकारवाला निकायलाई थप जिम्मेवार बनाउन योगदान गर्ने मानवसेवा आश्रमको विश्वास रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
