
मारुती सिमेन्ट्स लिमिटेडले लाभांश र सर्वसाधारणमा प्रिमियम मूलयमा सेयर जारी गर्ने प्रस्तावहरु सहित कार्तिक २१ गते मङ्गलबार २९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको असोज २५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले २०८० कार्तिक २१ गते मङ्गलबार बिहान साढे ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय, विराटनगरमा आह्वान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७९–८० को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीका अग्राधिकार सेयरधनीहरूलाई कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा तोकिए बमोजिमको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । सभाले कम्पनीको आ.व. २०७९–८० को मुनाफा तथा सञ्चित मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरूलाई बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गर्ने बताएको छ । मारुती सिमेन्टका कम्पनी सचिव गोपाल मणि भण्डारीसँग नोटबजारले सम्पर्क गर्दा उनले पनि बोनसका सम्बन्धमा बताउन चाहेनन् ।
यसैगरी कम्पनीमा हाल कायम १०० रुपैयाँ बराबरको ३० लाख थान अग्राधिकार सेयरलाई जारी गर्दाको शर्त, कम्पनीको प्रबन्धपत्र तथा नियमावली एवं प्रचलित कम्पनी ऐन बमोजिम साधारण सेयरमा परिवर्तन गर्ने प्रस्ताव पनि अनुमोदन गर्ने विशेष प्रस्ताव राखेको छ । साथै सभाले बोनस र अग्राधिकार सेयर साधारण सेयरमा परिणतपछि हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने विशेष प्रस्ताव राखेको छ ।
सभामा कम्पनीको नयाँ प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालक समितिले प्रस्ताव गरे अनुसार प्रिमियम मूल्यमा सर्वसाधारणको लागि प्रारम्भिक सार्वजनिक निष्काशन गर्न प्रकृया अगाडि बढाउने भएको छ । आईपीओ निश्काशनका लागि छुट्याईएको सेयरमध्येबाटै धितोपत्र सम्बन्धी प्रचलित नियम कानुनमा तोकिए बमोजिमको प्रतिशतले हुन आउने सेयरसम्बन्धित क्षेत्र तथा समूहहरूलाई निष्काशन तथा बिक्री गर्ने प्रस्ताव पारित गर्ने । कम्पनीले सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गरेपछि संशोधित प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएबमोजिम हुनेगरी सञ्चालक समितिको संरचनामा परिवर्तन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ । साथै प्रारम्भिक सार्वजनिक निष्काशनका सम्बन्धमा गर्नुपर्ने कार्यहरू तथा साधारण सभाबाट भएको निर्णयको कार्यान्वयनका लागि आवश्यक कुनै थप निर्णय वा कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
बोनस सेयर, अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत भए पछिको सेयर तथा हकप्रद सेयररको आधारमा कायम हुने पूँजीको आधारमा कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्ने र सोही बमोजिम विद्यमान प्रबन्धपत्रमा समेत संशोधन गर्नुपर्ने भएकोमा कम्पनीको हालको प्रबन्धपत्र तथा नियमावली साविक कम्पनी ऐन बमोजिम तयार गरिएकोमा उल्लेखित पूँजी संरचना समेतलाई अद्यावधिक गरी हालको प्रबन्धपत्र तथा नियमावलीलाई खारेज गरी प्रचलित कम्पनी ऐनले तोके बमोजिमको ढाँचामा तयार गरिएको कम्पनीको प्रबन्धपत्र तथा नियमावलीलाई समेत स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।
आव २०७९–८० मा कम्पनीको सञ्चालक समितिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको १ लाखभन्दा माथिका रकमहरू अनुमोदन गर्ने ।कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा हुनुपर्ने संशोधनहरूलाई समेत अद्यावधिक गरी तयार गरिएको नयाँ प्रबन्धपत्र तथा नियमावलीमा कम्पनी रजिष्ट्रारको कार्यालय लगायत कुनै नियमनकारी निकायबाट संशोधन, परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने ।
सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने र कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम चालु आव २०८०–८१ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।
यस्तै सञ्चालक समितिको निर्णयबाट विभिन्न बैंकहरूबाट लिईएको ऋणको अनुमोदन तथा स्वीकृत गर्ने, सञ्चालकको पारिश्रमिक तथा भत्ता निर्धारण गर्ने र सोही बमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने तथा आव २०७९–८० को वित्तीय विवरण एनएफआरएस अन्तर्गत तयार गरेको र वित्तीय विवरण तयार गर्दाका आधारहरू समयानुकुल परिवर्तन भएकोले अघिल्ला आवसम्मको वित्तीय विवरणहरू पनि सोही अनुरूप परिमार्जन गरिएकोले सो परिमार्जित वित्तीय विवरणहरूलाई अनुमोदन तथा स्वीकृत गर्नेछ । साथै सभाबाट सञ्चालक समितिबाट आव २०७९–८० मा भए गरेका निर्णयहरू अनुमोदन गर्नेछ ।
मारुती सिमेन्ट लिमिटेडको सिराहाको मिर्चेयामा रहेको उद्योगबाट गुणस्तरीय तथा उत्कृष्ट चुनढुंगा प्रयोग गरी ५३ ग्रेड र ४३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ।ओपिसी सिमेन्ट निजी संरचना तथा परियोजनाहरुमा अत्याधिक प्रयोग हुँदै आएको छ । मारुती सिमेन्टरहेको कम्पनीले जनाएको छ। मारुती सिमेन्ट एनएस आईएसओ ९००१ः१४००१ गुणस्तर चिन्ह प्राप्त गरको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
