नेपाली युवा उद्यमी अवार्डका लागि आवेदन खुल्ला

नेपाली युवा उद्यमी अवार्डका लागि आवेदन खुल्ला

यस वर्षको ‘नेपाली युवा उद्यमी अवार्ड’ को लागि आवेदन खुलेको छ । नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) ले आयोजना गरेको यस अवार्डको मूख्य उद्देश्य नेपालका विभिन्न सहरहरुमा उद्यम गरिरहेका उद्यमीहरुलाई थप सक्षम र सुदृढ बनाउनु हो ।

स्टार्टअप अवार्ड उद्यमीहरूका लागि एक प्रतिस्पर्धात्मक बुटक्याम्प हो । नेपालमा स्टार्टअप इकोसिस्टमलाई सक्षम र सुदृढ पार्ने उद्देश्यले युवाहरुले सञ्चालनमा ल्याएका स्टार्टअपलाई स्टार्टअप पिच गर्ने, नेटवर्क बनाउने र वृद्धि गर्ने प्लेटफर्म दिएर सन् २०२१ मा एनवाइइएफ काठमाडौं च्याप्टरले एनवाइइएफ स्टार्टअप अवार्डको सुरुवात गरेको थियो । यो वर्षको एनवाइइएफ अवार्ड तेस्रो संस्करण हो ।

एनवाइइएफ स्टार्टअप अवार्डका अघिल्ला वर्षका विजेताहरू बाइटकेयर टेक्नोलोजी (कारोबार एप) र डेलीश डेरी र डक्टर्स अन कल हुन् । यस वर्षको अवार्डका लागि नेपाली युवा उद्यमी मञ्चले विभिन्न च्याप्टरहरूलाई आआफ्ना सहरबाट उद्यमीहरुलाई आवेदन दिन आग्रह गरेको छ । यस स्टार्टअप अवार्डले नेपालका विभिन्न सहरका स्टार्टअप र उद्यमशील इकोसिस्टमलाई अझ माथि उठाउन मद्दत गर्नेछ ।

एनवाइइएफ स्टार्टअप अवार्डको तेस्रो संस्करणको शीर्षक प्रायोजक सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । यस वर्षको अवार्डका लागि आवेदकहरुले २०८० मंसिर ८ गते सम्म आवेदन दिन सक्नेछन् । स्टार्टअपहरूले पुरस्कारहरूको लागि दर्ता गर्न निम्न योग्यता मापदण्ड पूरा गर्नुपर्नेछ । स्टार्टअपहरूलाई नेपाल सरकारले आधिकारिक रूपमा मान्यता र दर्ता गरेको हुनुपर्नेछ ।

कम्पनीहरुले कम्पनी दर्ता प्यान र भ्याटको प्रतिलिपि पेश गर्नुपर्छ । स्टार्टअप दर्ता भएको मितिदेखि ५ वर्ष भित्र सञ्चालनमा आएको हुनुपर्छ । स्टार्टअपमा उत्पादन वा सेवा हुनुपर्दछ । स्टार्टअपले सहभागिताका लागि आवश्यक पर्ने समय दिन सक्षम हुनुपर्नेछ । अतिरिक्त मापदण्डहरू एनवाइइएफको वेबसाइटमा सूचीबद्ध छन् ।

एनवाइइएफ स्टार्टअप अवार्डले सबै स्टार्टअपहरूलाई गहन मेन्टरशिप र उद्योग विशेषज्ञहरूबाट मार्गदर्शन प्रदान गर्नेछ । एनवाइइएफले प्रथम विजेता लागि नगद चार लाख रुपैयाँ, दोस्रो उपविजेता लागि दुई लाख र तेस्रो उपविजेता लागि एक लाख प्रदान गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २९ असोज २०८०, सोमबार १८ : ०४ बजे