लगानीकर्तालाई लक्षित गर्दै नासा सेक्युरिटिजले ल्यायो एआई च्याटबोट, के के छन् विशेषता ?


नेपाल धितोपत्र बोर्डबाट शेयर ब्रोकरको कार्य गर्न अनुमति पाएको नासा सेक्यूरिटीज कम्पनी लिमिटेडले ग्राहक र सर्वसाधारणका लागि नौलो सुविधाहरु सार्वजनिक गरेको छ ।

नासा सेक्यूरिटीजले आफ्नो वेवसाईटको साजसज्जामा परिवर्तन गरी एआईका माध्यमबाट ग्राहकहरुको समस्या समाधान गर्न च्याटबटको व्यवस्था गरेको छ । वेवसाईट खोल्नासाथ तल दायाँतर्फ च्याटबट संकेत देखिने र त्यसमा क्लिक गरी ग्राहकले आफ्नो चासो तथा समस्या राख्न सक्नेछन् ।

एआईको माध्यमबाट समस्या समाधान र प्रश्नको सही जवाफ प्राप्त नभएमा सोही च्याटबटले सर्पोट टिकट बनाई नासा सेक्यूरिटीजका सम्बन्धित विभागका कर्मचारी समक्ष समस्या र गुनासो राख्न सकिने विकल्प पनि हुने कम्पनीले जनाएको छ । सो पश्चात् कर्मचारीहरुले तत्कालै समस्या तथा जिज्ञासा समाधान गरि सोको जानकारी गराउने व्यवस्था मिलाइएको कम्पनीका प्रबन्ध सञ्चालक मदन पौड्यालले जानकारी दिए ।

नासाले यस वर्षको दशैंको शुरुवातसँगै खल्ती डिजिटल वालेटसँगको सहकार्यमा आफ्ना ग्राहकहरुले एकमुष्ट रुपमा ९ सय ९० रुपैैयाँ तिरेर १० वर्षका लागि हितग्राही र मेरो शेयर खाता नविकरण गर्न सकिने व्यवस्था पनि गरेको छ । खल्ती वालेटको एपमार्फत् डिम्याट र मेरो शेयर विकल्पमा गई नविकरण गर्दा यो अफर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नासाले आफ्नो वेवसाईट मार्फत नासा ट्रेडिङ स्कुल नामक ओपन लर्निङ प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ । वेवसाईटको मुख्य पृष्ठको पहिलो लहरमा रहेको यो लिंकमा गई सर्वसाधारणले रजिष्ट्रेशन गरी शेयर बजार र कारोबारबारे विविध जानकारीमूलक श्रव्यदृश्य सामाग्रीहरु निःशुल्क रुपमा हेरी ज्ञान प्राप्त गर्न सक्नेछन् ।

नासाले डिटिजल उपकरणहरुको स्तरोन्नति गरी सम्बन्धित निकायहरुबाट अनुमति प्राप्त गरी अनलाईन सर्टिफिकेशनसम्मको सुविधा दिने योजना बनाएको सञ्चालक पौैड्यालले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।