स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र इन्टरनेशनल सेन्टर फर हाइड्रोपार (आईसीएच) को सहआयोजनामा दुई दिने दीगो वित्तीय उपकरण व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । मेरियट होटल काठमाडौंमा असोज २९ र ३० गते आयोजना गरिएको उक्त कार्यक्रममा नविकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।
दुई दिने तालिमको उद्घाटनमा बोल्दै इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीहरुको क्षमता वृद्धिका लागि आईसीएच र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्यमा आयोजना गरिएको दीगो वित्तीय उपकरण सम्बन्धी तालिमले नविकरणीय ऊर्जाको क्षेत्रमा वित्त व्यवस्थापनमा ठूलो सहयोग र्पुयाउने विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै आईसीएचकी प्रबन्ध निर्देशक लिने अम्लुन्ड हेगनले नविकरणीय ऊर्जाको दीगो वित्त व्यवस्थापनका लागि यो तालिम आयोजना गरिएको बताइन् ।

सामाजिक–पर्यावरण द्वन्द व्यवस्थापनमा ५ दिने तालिम
इप्पान र आईसीएचकै सहकार्यमा नवीकरणीय ऊर्जा परियोजनामा सामाजिक(पर्यावरण द्वन्द व्यवस्थापन –प्रिभेन्सन, म्यानेजमेन्ट। एण्ड ट्रान्सफरमेसन अफ सोसियो–इन्र्भामेन्टल कन्फ्लिट इन रिन्यूएबल इनर्जी प्रोजेक्टस्) सम्बन्धी ५ दिने तालिम पनि केहि दिन अघि मात्र सम्पन्न भएको छ ।
चन्द्रागिरी हिल्स रिसोर्ट काठमाडौमा असोज २२ देखि २६ गतेसम्म आयोजना भएको तालिममा स्थानीय र पर्यावरण सम्बन्धी द्वन्द व्यवस्थापनका वारेमा आईसीएचका तर्फबाट दर्जनौ पेपरहरु प्रिजेन्टेसन गरिएको थियो । उक्त तालिममा नेपालको ऊर्जा क्षेत्रमा सक्रिय १५ जना र फिलिपिन्सका ३ जना ऊर्जा उद्यमीहरुको सहभागीता रहेको थियो । सहभागीहरुलाई इप्पानकी सचिव कविता पोखरेलले प्रमाणपत्र वितरण गरेकी थिइन् ।
इप्पान र आईसीएचबीच विगत डेढ दशकदेखि नवीकरणीय ऊर्जा क्षेत्रका विविध विषयमा सहकार्य हुँदै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
