
राष्ट्रिय उपभोक्ता मञ्चले चाडपर्व नजिकिएसँगै दैनिक उपभोग हुने खाद्य वस्तुको आपूर्ति बढाउनका लागि प्रधानमन्त्री समक्ष ज्ञापन पञ बुझाएको छ । मञ्चले सरकारले चिनी, चामल लगायतका दैनिक उपभोग्य वस्तुको आयात सरकारले गर्न नसकेको खण्डमा निजी क्षेत्रले आयात गर्ने समेत जानकारी दिएको छ ।
उपभोक्ता मञ्चले चिनी, चामल र गहुँ खरिदका लागि सरकारले निजी क्षेत्रलाई आवश्यक सहुलियत र सहमति प्रदान गरी आपूर्ति व्यवस्था सहजीकरणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुरोध गरेको हो ।
राष्ट्रिय चाड बडादशैंको मुखैमा नेपालमा चिनी अभाव व्याप्त देखिएको छ । लामो समय कुर्दा समेत उपभोक्ताले चिनी पाउन सकेका छैनन् । भारतमा प्रति केजी ४३.९३ रुपैयाँ रहेको चिनी नेपालमा १५० रुपैयाँमा पाउन समेत धौधौ परिरहेको छ । यसरी चिनीको आपूर्ति व्यवस्थापनका र मूल्य नियन्त्रणमा सरकार असफल भएको छ ।
सरकारले दैनिक रुपमा प्रयोग हुने खाद्य वस्तुको आपूतिए र मूल्यमा नियन्त्रण गर्न नसके त्यसले आगामी समयमा ठूलो अभाव सिर्जना गर्ने मञ्चको ठहर छ । उपभोक्ताले भोगिरहेको मर्का र वर्तमान अवस्थालाई सुधार गर्नका लागि राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्री समक्ष ६ बु्ँदे ध्यानाकर्षण पत्र बुझाएको मञ्चका अक्ष्यक्ष प्रेमलाल महर्जनले बताए ।
पत्रमा मञ्चले नेपालमा बार्षिक खपत हुने चिनी मध्ये ४० प्रतिशत चिनी कच्चा पदार्थको रुपमा उपयोग गर्ने स्वदेशी कन्फेक्सनरी लगायत अन्य उद्योगहरुले बिदेशबाट चिनी आयात गर्न चाहेको बताएको छ । यस्तो अवस्थामा सहुलियत पूर्ण भन्सार महसुल लिने गरी पुससम्मको लागी आवश्यक आयात इजाजत पत्र दिने व्यवस्था गर्नु पर्ने माग गरेको छ । वैैधानिक बाटोबाट सरकारलाई राजस्व बुझाएर चिनी चामल ल्याउन सहजीकरण गरे अभाव र मूल्यवृद्धि तत्काल नियन्त्रणमा आउने मञ्चको बुझाइ छ ।
चाडपर्वलाई मध्यनजर गर्दै सार्वजनिक संस्थाहरुलाई चिनी, चामल, दाल दलहन, तेल तथा अन्य खाद्य पदार्थ आयात गर्नमा बिशेष अनुदान दिएर वा भन्सार महसुल, मूल्य अभिबृध्दि कर छूट आदि दिएर आपूर्ति व्यवस्थापन गर्ने काम तत्काल गर्न सरकारलाई आग्रह गरेको छ । यस्तै स्थानीय तहलाई देशभर सुपथ मूल्यका पसल संचालन गर्ने बाध्यतात्मब व्यवस्था गर्न समेत प्रधानमन्त्तीलाई बुझाइएको ध्यानआकर्षण पत्रमा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
