
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १ खर्ब बढी सञ्चालन आम्दानी गरेको छ । सर्वसाधारणमा प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारीमा रहेको प्राधिकरणले आर्थिक वर्ष २०७९/८० मा १ खर्ब ९ अर्ब ८१ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको हो ।
प्राधिकरणको विगत ६ वर्षको वित्तीय पृष्ठलाई नियाल्दा कम्पनीको सञ्चालन आम्दानीमा उच्च बढोत्तरी भएको छ । आर्थिक वर्ष २०७४/७५ मा ५८ अर्ब ७५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको प्राधिकरणको आव २०७९/८० मा सञ्चालन आम्दानी बढेर एक खर्ब रुपैयाँ भन्दाबढी पुगेको हो ।
सञ्चालन आम्दानीमा भएको वृद्धिसँगै प्राधिकरणको ह्रासकट्टी, परिशोधन, ब्याज, कर र भाडा सहितको नाफा (इबिटिडा) र कर पछिको नाफा (प्याट) मा समेत बढोत्तरी देखिएको छ । आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७६/७७ सम्ममा कम्पनीको नाफा निरन्तर बढेको थियो । आर्थिक वर्ष २०७४/७५ मा कम्पनीको इबिटिडा कुल सञ्चालन आम्दानीको १३.३० प्रतिशत रहेको थियो जुन आर्थिक वर्ष २०७६/७७ सम्म बढेर २५.४० प्रतिशत पुगेको थियो । आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको नाफामा गिरावट आएको थियो ।

विद्युत चुहावट बढ्दै जाँदा प्राधिकरणको नाफामा गिरावट आएको थियो । तथापि आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणको एबिटिडा बढेर कुल सञ्चालन आम्दानीको २८.१ प्रतिशत पुगेको थियो । यस्तै गत आर्थिक वर्षमा कम्पनीको सो नाफा घटेर कुल सञ्चालन आम्दानीको २०.४० प्रतिशत पुगेको छ । गत आवमा सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरूको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको प्राधिकरणले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
