अवसर र चुनौतीको कठिन परीक्षामा छौं, पछाडि फर्किन छुट छैन: प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश अहिले अवसर र चुनौतीको कठिन परीक्षाबाट गुज्रिरहेका बताएका छन् ।

दसैंको अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठूलो चुनौती रहेको बताएका हुन् ।

‘हामीलाई पछाडि फर्किन या यत्तिकै रुमलिने छुट छैन। हामीले नेपाली जनताले युगौंदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पुरा गर्न ढृढतापूर्वक अघि बढ्नैपर्छ,’ प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘यसका लागि जस्तोसुकै कठिनाइ आएपनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ ।’

उनले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् ।

‘हाम्रासामु अर्थतन्त्रमा परेको दवाव, विकास निर्माणमा देखा पर्ने परम्परागत शैली, संरचना र प्रणालीको अवरोध, राष्ट्र निर्माणका पक्षमा राष्ट्रिय एकताको भावनालगायतका चुनौती छन् । तर हामीले दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्यौं भने हरेक अवरोध छिचोल्न सक्छौं,’ उनको सन्देशमा उल्लेख छ ।

उनले राष्ट्र निर्माणको संकल्प बोक्दै राष्ट्रसामु विद्यमान चुनौतीहरूको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका विजयादशमी आह्वान पजि गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।