कञ्चनपुरका किसानलाई पावरटिलर र मिनीटिलर वितरण

कञ्चनपुरका किसानलाई पावरटिलर र मिनीटिलर वितरण

कृषिको लागत खर्च घटाउनका लागि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ११५ किसानलाई ५० प्रतिशत अनुदानमा खेत जोत्न प्रयोग हुने पावरटिलर र मिनीटिलर वितरण गरेको छ । नगरपालिकाले किसानलाई ६९ पावरटिलर र ४६ मिनी पावरटिलर वितरण गरेको हो ।

नगरपालिकाले कृषि सहकारी, कृषक समूह र कृषि फार्ममा आबद्ध किसानलाई पावरटिलर र मिनीटिलर वितरण गरेको छ । “सहकारी, समूह र फार्ममा आबद्ध दलित, जनजाति, महिलालाई पहिलो प्राथमिकतमा राखेर खेत जोत्न प्रयोग हुने उपकरण वितरण गरेका छौँ”, नगरपालिकाको कृषि शाखाका प्रमुख लालबहादुर धामीले जानकारी दिए । पावरलिटर र मिनीलिटर वितरण गर्दा दुई वर्षसम्म कृषिमा अनुदान नपाएका किसानलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

उनका अनुसार नगरपालिकाले ५० प्रतिशत अनुदानमा ५१ पावरटिलर र २३ मिनीटिलर वितरण गरेको छ । पालिकाले सामुदायिक वनको २५ प्रतिशत, नगरपालिकाको २५ प्रतिशत र किसानको ५० प्रतिशत लागत साझेदारीमा १८ वटा पावरटिलर र २३ मिनीटिलर वितरण गरेको हो । एक पावरटिलरको मूल्य १ लाख ७४ हजार ५०० र मिनीटिलरको मूल्य ५२ हजार ५०० रहेको धामीले जानकारी दिए । कुल मूल्यको आधा मूल्य भने किसान आफैले व्यहोरेका छन् ।

कृषिमा आधुनिकीकरण गर्न, विदेशिने युवालाई कृषि पेसामा संलग्न गराउन र कृषिको लागत खर्च घटाउने उद्देश्यका लागि पावरटिलर र मिनीटिलर वितरण गरिएको उनको भनाइ छ । कृषिलाई आधुनिकीकरण गरी उत्पादन बढाउनका लागि कृषि उपकरण वितरणमा जोड दिइएको नगरप्रमुख हेमराज ओझाले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार ११ : २९ बजे