भत्ता बोकेर लाभग्राहीको घरमै जनप्रतिनिधि

भत्ता बोकेर लाभग्राहीको घरमै जनप्रतिनिधि

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित विकट पहाडी गाउँमा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गैँडाकोटका नगर प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारी सहितको टोलीले आफ्ना वडाका सम्पूर्ण लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो ।

वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा घरमै पुगेर लाभग्राहीलाई प्रदान गरेको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए । नगरपालिकाले एकमुष्ट लाभग्राहीको व्यक्तिगत खातामा रकम जम्मा गरिदिन्छ । भूगोलका कारण वृद्ध बाआमालाई हिँडेर बैंकसम्म पुग्न समस्या हुनेहुँदा वडाले सहजीकरण गरेर सबैको पैसा घरमा नै पु¥याएको तिवारीले बताए । नगरपालिकाले सबैको खातामा पैसा हालिदिएपछि लाभग्राहीको घरमा पुगेर चेक जम्मा गरेर वडा कार्यालयले बैंकमा पुगेर सबैको रकम एकमुष्ट साटेर लाभग्राहीलाई वितरण गर्ने गरेको छ ।

यसो गर्दा बैंकले नपत्याउने समस्या समाधानका लागि उनीहरुले बैङ्कका कर्मचारीलाई विश्वास लाग्दैन भने चेक लिने बेलामा सबै वृद्ध बुबाआमाले चेकमा ल्याप्चे लगाएको भिडियो खिचेर ल्याएर देखाउने गरेका छन् । यसरी बैङ्कका कर्मचारीले विश्वास गरेर रकम साटिदिनु भएर आफूहरुले घरमै पु¥याउन सफल भएको उनले बताए ।

बैङ्किङ पद्धतिबाट पैसा आउने गरेको भन्दै वडाध्यक्ष तिवारीले भूगोलका कारण लाभग्राहीलाई बैङ्कसम्म पुग्न कठिन हुने भएकाले आफूहरुले सहयोग गरेको बताए । “हाम्रो वडाबाट एकपटक भत्ता बुझ्न जाँदा प्रतिव्यक्ति तीन हजार रुपैयाँसम्म खर्च हुने बाटो छ,” उनले भने “यस्तो समस्याको समाधान गर्नुपर्ने हामी जनप्रतिनिधिको दायित्व पनि हो । त्यसैले रकम घरमै लगेर वितरण गरेका हौँ ।”

सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफूसहित वडा सदस्यहरुलाई समेत परिचालन गरेको वडाध्यक्ष तिवारीले जानकारी दिए । दसैँका लागि मात्रै नभई तिवारीले आफ्नो पहिलो कार्यकालदेखि नै सामाजिक सुरक्षा भत्ता घरघरमा पुराउँदै आएका छन् । वडाका सबै जनप्रतिनिधि मिलेर सामाजिक सुरक्षा भत्ता घरमै लगेर दिने गरेको उनी बताउँछन् । वडामा रहेका दुई सय २२ घरधुरीका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता घरमै लगेर दिन लागेको उल्लेख गर्दै सबैको रकम जोड्दा करिब २२ लाख हुने उनले बताए ।

वडा कार्यालयबाट घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिँदा लाभग्राहीसमेत खुसी छन् । ९० वर्षीय सानुमाया सुनारले दिनभरि हिँडेर लाइनमा बसेर भत्ता बुझ्नै समस्या हुने गरेकामा वडा कार्यालयले घरमै लगेर दिँदा आफूहरुलाई सहज भएको बताइन् । उनी भन्छिन्, “पैदल हिँडेर अटो चढेर बैङ्कसम्म पुग्नपथ्र्यो , बैङ्कमा गएर पनि लामो लाइन बसेपछि मात्रै भत्ता पाइन्थ्यो, यसरी घरमै रकम बुझ्न पाउँदा ज्यादै खुसी लागेको छ ।” 

रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार १६ : ४० बजे