गाउँ सहरमा दसैँ छाइसकेको छ । धेरैलाई दसैँ सपिङ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दसैँको आभाष हुन सकेको छैन । दसैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ ।
“यसपाली दसैँ यतै बित्ने भयो” कास्की मादी गाउँपालिकाकी मिना दर्जीले दुखी हुँदै भनिन्, “पैसा नभइ दसैँ कसरी मनाउनु ।” पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई दसैँमा पनि विहान बेलुकाको छाक टार्नेमै चिन्ता छ । त्यसैले यस वर्षको दसैँ कालीगण्डकी किनारमै बित्ने उनी बताउछिन् ।
मिनालगायतका अन्य धेरै मुजदुर यति बेला कालीगण्डकी किनारमा काम गर्नै व्यस्त छन् । गाउँ घरमा दसैँ छाए पनि उनीहरुलाई दशैंको भन्दा काम कसरी सक्काउन र दुई चाक टार्नकै चिन्ता छ । तथापि केही मजदुर भने कात्तिक ६ गतेसम्म काम गरी दसैँ मनाउन घर जाने योजनामा छन् । मिनाले आफूसँगै काम गर्ने धेरै साथीहरु दसैँका लागि घर गइसकेको र केही काममै व्यस्त रहेको बताइन् । दशैंको रमझममा सारा गाउँ, सहर झुम्दा आफ्नो घर जाने वातावरण नबनेकोमा उनले दुख प्रकट गरिन् ।

पहिले बालुवा बिक्री राम्रो भए पनि अहिले त्यसो हुन सकेन । यसैलाई लिएर उनी भन्छिन्, “पहिले त बालुवा बिक्री राम्रो थियो । दिनमा १ हजार ५०० देखि २ हजारसम्म कमाइ पनि हुन्थ्यो तर अहिले त्यस्तो राम्रो कमाइ छैन” ।
कालीगण्डकी किनारमै बालुवा चाल्ने बिमल सुनारले पनि यसपालि आफूलाई दसैँले नछोएको बताए । उनी भन्छन्, ‘दसैँमा गाउँ जाने रहर थियो तर कमाइभन्दा घर जाने खर्च नै बढी भएपछि घर गइन” । यस्तै उनले आफूू बिरामी भएर अस्पताल बस्दा लागेको पाँच लाख ऋण तिरेर नसक्काएको र ऋण नतिरी घर जान अफ्ठेरो लागेको बताए ।

मध्यपहाडी लोकमार्गको अक्षते खण्डमा मजदुरीमा व्यस्त रोल्पा छुनछहारीका पदम बुढा मगरसँग पनि दर्जी र सुनारको जस्तै पीडा छ । उनी भन्छन्, “दसैँमा भनेजस्तो खर्चको जोहो भएन, तिहारसम्म केही बचत भयो भने घर जाने विचारमा छु, यसपालीको दसैँ यतै मनाइने भइयो” ।
डेढ वर्ष भारतमा मजदुरी गरेपछि केही समय अघि मात्रै उनी नेपाल आई मजदूरी सुरु गरेका हुन् । भारतमा राम्रो कमाइ नभएपछि आफूनेपाल फर्केको बताउने उनले नेपालमा पनि भने जस्तो कमाइ नभएको र कमाइ नभएपछि आफूलाई दशैंको रमझमले नछोएको बताए । रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
