धार्मिक पर्यटन प्रर्वद्धनका लागि इलाममा गुम्बा निर्माण गरिँदै

धार्मिक पर्यटन प्रर्वद्धनका लागि इलाममा गुम्बा निर्माण गरिँदै

धार्मिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ इलाम नगरपालिका–६ पानीट्याङ्कीमा गुम्बा निर्माण गर्न सुरु गरिएको छ । आन्तरिक तथा बाह्य धार्मिक पर्यटन प्रर्वद्धनमा गुम्बा महत्वपूर्ण रहने विश्वासका साथ गुम्बा निर्माण गर्न लागिएको हो ।

एक रोपनी क्षेत्रफलमा डेढ करोड रुपैयाँ लागतमा गुम्बा निर्माण हुने निर्माण समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिए । गुम्बासहित आवासका लागि आवास क्षेत्रसमेत निर्माण गर्ने समितिको योजना छ । यसका साथै गुम्बामा धार्मिक पाठशालाको समेत निर्माण गरिनेछ ।

गुम्बा निर्माणका लागि सन्दकपुरका धनबहादुर गुरुङले एक रोपनी जमिन निःशुल्क उपलब्ध गराएका हुन् । जग्गा दान दिनुका साथै उनले नगद तीन लाख रकम निर्माण कार्यका लागि सहयोग समेत गरेको निर्माण समितिले जानकारी दिएको छ ।

न्युपिङ थार्पाछ्योलिङ गुम्बा निर्माणका लागि हाल धमाधम काम भइरहेको छ । यसका लागि स्थानीयहरु श्रमदानमा समेत जुटेका छन् । बिदाको दिन करिब एक सय भन्दा धेरैको सङ्ख्यामा स्थानीय श्रमदानमा आउने गरेका छन् । गुम्बाको भवन निर्माणकै लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत २५ लाख रुपैयाँ प्राप्त भएको गुरुङले बताए । यसका साथै विभिन्न गुम्बा निर्माणका लागि व्यक्तिगत रुपमा सहयोग गर्ने दाताबाट २० लाख भन्दा धेरै रकम सङ्कलन भएको छ ।

तीन वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको यस गुम्बा निर्माणले चियाबारी घुम्न आएका पर्यटकहरुलाई नयाँ आकर्षण थप्ने विश्वास लिइएको छ । गुम्बासँगै भगवान् बुद्धको प्रतिमा समेत स्थापना गरिनेछ । गुम्बा निर्माणका लागि सहयोगी हातहरु बढ्दै गएको र यसले निर्माणका लागि थप उत्साह भरेको निर्माण समितिले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार १८ : ०३ बजे