इम्बोस्ड नम्बर प्लेट जडानमा सुस्तता

इम्बोस्ड नम्बर प्लेट जडानमा सुस्तता

सवारी साधनको अभिलेख केन्द्रिकृत गर्ने प्रणाली ‘इम्बोस्ड नम्बर प्लेट’ जडान थालिएको वर्षदिन बितिसकेको छ तर सवारीधनीमा यसप्रति खासै रुची नभएको देखिएको छ ।

सरकारले २०७४ भदौ देखि केन्द्रमा सुरु गरेको ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बुटवलस्थित यातायात कार्यालयमा गत वर्षदेखि लागू भएको हो । तर हालसम्म १ हजार ५२ वटा सवारी साधनमा मात्रै ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरिएको छ ।

यातायात कार्यालय बुटवलका अनुसार हालसम्म ५१५ सरकारी मोटरसाइकल र १४६ वटा चारपाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको हो । अहिलेसम्म २५६ वटा निजी मोटरसाइकल र ११२ वटा चारपाङ्ग्रे सवारी, आठ वटा ट्याक्टर, भाडाका पाँच र दश वटा भारी सवारी साधनले ‘इम्बोस्ड नम्बर प्लेट’ लिएका छन् ।

केन्द्रीय यातायात व्यवस्था विभागले सबै प्रदेशमा एकैपटक बोलपत्र आह्वान गरेर नम्बर प्लेट जडान गर्न कर्मचारी खटाएको छ । यातायात कार्यालय बुटवलका प्रमुख लक्ष्मण लम्सालले ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बापतको राजस्व पनि विभागको खातामा दाखिला हुने गरेको बताए । निजी सवारी साधानलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएकाले यसप्रति खासै रुची नभएको उनको बुझाइ छ ।

इम्बोस्ड नम्बर प्लेट राख्न मोटरसाइकललाई २ हजार ५००, तीन पाङ्ग्रे सवारीलाई २ हजार ९००, चारपाङ्ग्रे सवारीलाई ३ हजार २०० र हेभी सवारीलाई ३ हजार ६०० राजश्व तोकिएको छ । एघार जना कर्मचारीले इम्बोस्ड नम्बर प्लेट सम्बन्धी सेवा प्रवाह गर्दै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ कार्तिक २०८०, आइतबार ०९ : १८ बजे