पछिल्लो समयमा नेपालका युवा पुस्ता विदेश जाने प्रचलन बढ्दै गएको छ । औपचारिक तथ्यांक अनुसार २२ लाख भन्दा धेरै नेपाली विश्वभरका विभिन्न मुलुकहरुमा छरिएर बसेका छन् । कोही कामका लागि खाडी मुलुकमा गएका छन् भने कोही अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यान्डा तथा युरोपका विभिन्न देशहरुमा ती देशकै नागरिक भएर बसेका छन् ।
पहिले पहिलेको समयमा घरको आर्थिक अवस्था उकास्नका लागि विदेशीने परदेशीहरु दशैंको समयमा गाउँमा आउँथे । उनीहरुसँगै दशैंको रौनक पनि आउँथ्यो । वर्षौँपछि छोरो चाडपर्वमा घर आउँदा बुढा बाआमा, श्रीमतीको खुशीले आकाश छुन्थ्यो तर अहिले समय फेरिएको छ । फेरिएको समयसँगै चाडपर्वमा हुने उत्साह पनि फेरिएको छ ।
अहिले गाउँघरका अधिकांश युवाहरु देश बाहिर नै खुशी साथ बस्न सुरु गरेका छन् । उनीहरुले आफ्ना बाबाआमालाई नै चाडपर्व मनाउनका लागि आफू भएको देशमा बोलाउन सुरु गरेका छन् । यसरी पहिलेको दशैंमा छोराछोरी बुबा आउने आशामा बस्थे भने अहिले छोराछोरी आउने आशामा आमाबुबा छन् ।
म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका–७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि श्रीमतीसहित अष्ट्रेलिया गएका छन् ।
म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका गोपाल र मिना गौतम पनि छोरा, बुहारी र नातिनीसँग दसैँ मनाउन अमेरिका गएका छन् । त्यसैगरी बेनीका केसी र दरवाङका गौतम दम्पत्ति आफन्त र घरपरिवारसँग दसैँ मनाउन विदेश जाने उदाहरण मात्रै हुन् ।
पहिले–पहिले विदेश र सहरबजारबाट दसैँ र तिहार जस्ता पर्व मनाउन जन्मथलो गाउँमा फर्कने चलन थियो । अहिले भने परिवारका सदस्यसँग चाडपर्व मनाउन विदेश जाने चलन सुरु भएको देख्न सकिन्छ ।
श्रीमती र छोराछोरीसहित दसैँ मनाउन बेलायत पुगेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका बरिष्ठ बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोलाले आफन्तजन सबै विदेशमा भएपछि चाडपर्वमा भेटघाट र भ्रमणको लागि बेलायत गएको बताए ।

“हाम्रो परिवारमा नेपालमा हुनेभन्दा विदेशमा हुनेको सङ्ख्या बढी छ”, उनले भने “आफन्त पनि धेरै विदेशमै छन् । आफन्तसँग दसैँ पनि मनाइने र भेटघाट तथा घुमघाम पनि हुने भएकाले यसपाली बेलायतमा दसैँ मनाउने योजना बनायौ ।”
अध्ययन, रोजगारी, व्यापार, व्यवसायको सिलसिलामा अमेरिका, अष्ट्रेलिया, क्यानडा तथा बेलायतलगायतका मुलुकमा रहेका नेपालीले त्यहाँ पनि नेपालमा जस्तै गरी दसैँ मनाउने गरेको म्याग्दी प्रवासी नेपाली संघ अमेरिकाका अध्यक्ष रघु सुवेदीको भनाइ छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इसान) अमेरिकाका अध्यक्ष राहुल केसीले चाडपर्व मनाउन, विवाह, छेवर, व्रतवन्धका लागि विभिन्न देशमा नौमती बाजा समूह नै गठन गरिएको उनको भनाइ छ ।
“नेपालबाट मौलिक भेषभुषा र बाजा मगाएर कलाकार समूहले विदेशमा नेपाली संस्कृति फैलाएका छन्”, उनले भने, “नेपालीहरुको बाहुल्य भएका कम्पनीले नेपाली चाडपर्व मनाउन छुट्टी समेत दिने गरेका छन् ।”
म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसीले ‘डायसपोरा’मार्फत नेपाली संस्कार र संस्कृति संसारभर फैलिन थालेको धारणा व्यक्त गरे । “पहिले डायसपोरामार्फत पश्चिमा संस्कृति नेपाल आयो । अहिले नेपाली संस्कृति विदेशमा फैलिनु सकारात्मक हो,” उनले भने, “यसले गर्दा नेपाली संस्कृति अन्तर्राष्ट्रिय बजारमा पुगिरहेको छ ।”
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
