मुढा बुनेरै दैनिक ५ हजार कमाउँछन् कैदीबन्दी

0
Shares

चारैतिर दशैंको रौनक छाउँदा जिल्ला कारागार तनहुँका कैदीबन्दीहरु भने मुढा बुन्नमा व्यस्त देखिन्छन् । मुढा बुनेर नै उनीहरुले दैनिक ५ देखि ६ हजार आम्दानी समेत गर्दै आएका छन् ।

दशैंमा मुढाहरुको उच्च माग हुनेहुँदा यस वर्षको दसैँमा पाँच लाख बराबरको मूढा उत्पादन गर्ने तयारीमा कैदीबन्दीहरु रहेका छन् । त्यसका लागि केही दिनदेखि कैदीबन्दी मूढा बुन्ने काममा व्यस्त छन् ।

बाँसबाट मुढा बुन्न कैदीबन्दीलाई चटारो रहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार कैदीबन्दी यतिबेला मुढा बनाउने, टायल राख्ने, बिट मार्नेलगायतका कार्यमा व्यस्त छन् ।

विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीलाई आय आर्जनतर्फ जोड्न प्रेरित गर्नका लागि कैदबिन्दीका लागि मूढा बुन्ने सीप सिकाएको नारायणप्रसाद अधिकारीले बताए । कैदीबन्दीले मूढा बिक्री गरेर दसैँंमा घरखर्चसमेत पठाउने गरेका छन् ।

कारागारमा बुनिएको मुढा तीन सय ५० देखि १ हजार सम्ममा बिक्री हुने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले बताए । यसपालि दशैंमा पाँच लाख बराबरको मूढा बिक्री हुने अनुमान गरिएको छ । उनी भन्छन्, ‘कारागारमा यत्तिकै दिन कटाउनुभन्दा अधिकांश कैदीबन्दी आयआर्जनतर्फ जोडिएका छन् । धेरैजसोले दसैँंमा मुढा बिक्री गरेबापतको पैसा घरमा पठाउने गरेका छन् ।’

कारागारमा दुई ब्लकमा दुई सय ८२ कैदीबन्दी छन् । चाडपर्वमा मूढाको माग बढी हुने गर्दछ । यहाँ उत्पादित मूढा विभिन्न ठाउँमा बिक्री हुने गरेको छ । कतिपयले भने कारागार मै आएर पनि मूढा किन्ने गरेका छन् ।

कैदीबन्दीका अनुसार एउटा मूढा तयार गर्नका लागि दुई/तीन दिन लाग्छ । मुढा उठाउने, टायर राख्ने, बुन्ने, विट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् । यसरी उनीहरुलृ समूह बनाइ मुढा बुन्ने र बेचेर आएको पैसा घर पठाउने गरिरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।