चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण गरिएको छ । इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल गाउँपालिकाको लगानी र नागरिकको श्रमदानबाट निर्माण गरिएको हो ।
पुल निर्माणका लागि ३० प्रतिशत काम श्रमदानबाट गरिएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँघरमा श्रमदान गरेर विकास निर्माणका काम गर्ने परम्परा हराउन थालेपछि पालिकाले श्रमदानमा जुट्न स्थानीयलाई प्रोत्साहन गरेको बताए । श्रमदानमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दा सहभागी भएको उनले जानकारी दिए ।
“३० देखि ४० प्रतिशत श्रमदानबाट पुल निर्माणको काम गरेका छौँ”, उनले भने”, “प्राविधिक र निर्माण सामग्रीका लागि आवश्यक बजेट गाउँपालिकाले व्यवस्था गरेको छ ।” पुल निर्माणका लागि गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको हो । पुल निर्माण भएपछि दसैँका अवसरमा पुल सञ्चालनमा आएको छ ।
“पलिकामा सरसफाइ, कुलो निर्माण, विद्यालय र बाटोघाटो निर्माणमा पनि श्रमदान गरिएको छ”, अध्यक्ष गुरुङले भने, “यसले विकास निर्माणलाई पारदर्शी बनाउनेछ । जनसहभागिताका लागि नागरिक उत्साहित छन् ।” पालिकामा सबै विकास निर्माणका काममा श्रमदान गर्ने योजना रहेको र न्यूनतम १० प्रतिशत श्रमदान अनिवार्य गरेको छ ।
यसअघि हरिपुर खोलामा राखिएको बेलीब्रिजको संरचना प्रयोग गरेर स्याङ्दी खोलमा पुल निर्माण गरिएको इच्छाकामना–७ का वडाध्यक्ष बमबहादुर रानामगरले जानकारी दिए । हरिपुर खोलामा अहिले पक्की पुल निर्माण भइसकेको छ । बेलीब्रिज राख्नका लागि वडावासीले श्रमदान गरेका हुन् । पुल निर्माणपछि गर्दा र स्याङ्दीका बासिन्दा लाभान्वित हुने जानकारी दिए । पुल नहुँदा हरेक वर्ष स्याङ्दी खोलामा आउने बाढीका कारण विद्यालय जाने विद्यार्थी र स्थानीयले सास्ती खेप्दै आउनुपरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
