बडादसैँ अन्तर्गत नवमीका दिन आज काठमाडौँ उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् । सडकमा सवारी साधानको सङ्ख्या पातलिएको छ ।
स्थानीयहरु घरघर दसैँ मनाउन व्यस्त रहेका र काठमाडौँ बाहिरबाट यहाँ पेसा–व्यवसाय गर्न आएकाहरु आफ्ना घर गाउँमा गएपछि सडकमा सवारी साधनको उपस्थिति कम देखिएको हो ।
घटस्थापनादेखि नै मानिसहरु काठमाडौँबाट बाहिरिन सुरु गरेका थिए । दैनिक एक लाखको हाराहारीमा मानिसहरु बाहिरिएका थिए ।
नवमीमा दिन अत्यावश्यकबाहेक सवारी साधन नचलाइने परम्पराका कारण पनि सडक खाली भएको हो । सडकमा निजी क्षेत्रका एकाध सवारी साधन मात्रै गुडेका देखिन्छन् भने पैदलयात्री पनि न्यून देखिन्छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले उपत्यकामा सवारी चाप अति कम रहेको र ट्राफिक व्यवस्थापनको स्थिति सामान्यतः रहेको जनाएको छ । नवमीका दिन आफ्ना सवारी साधानलाई धोइपखाली गरी पूजाआजा गरिन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
