बागलुङका अधिकांश धार्मिक तथा पर्यटकीय गन्तव्यसम्म पुग्ने पूर्वाधारको अभाव भएपछि काठेखोला गाउँपालिकाले २ लाख खर्चेर पदमार्ग निर्माण गर्ने भएको छ ।
गाउँपालिकाले विनियोजन गरेको २ लाखबाट पदमार्ग निर्माण गरेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताए । थापाले यस वर्ष करिब दुई समय मिटर ढलानसहितको पदमार्ग निर्माण गरेको जानकारी दिए ।
मोटरबाटो तथा पदमार्ग निर्माण नहुँदा जिल्लाका पर्यटकीयस्थल छायाँमा परेका हुन् । कतिपय सडकले जोडिएका ठाउँमा पनि स्तरोन्नति गर्न नसक्दा पर्यटकलाई समस्या हुने गरेको छ ।
यहि समस्या समाधानका लागि पालिकाले पालिकाभित्र रहेका सबै धार्मिक तथा पर्यटकीयस्थललाई मोटरबाटो तथा पदमार्गले जोड्ने योजना बनाएको छ । पर्यटक बढाउनका लागि गाउँपालिकाले यस वर्षदेखि पर्यटकीयस्थल वसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण गर्न सुरु गरेको छ । पालिकाले चापोट जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोरसम्म पुर्याउने गरी पदमार्ग निर्माण सुरु गरेको हो । गाउँपालिकाले चालु आर्थिक वर्षबाट पर्यटन प्रर्वद्धनका लागि सडक तथा पदमार्ग निर्माण गर्न थालेको काठेखोला गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले जानकारी दिए ।

धेरै सम्भावना भएको ठाउँ भए पनि वर्षौंदेखि ओझेलमा परेको हुँदा पालिकाले यस वर्ष थोरै बजेट व्यवस्थापन गरेर पदमार्ग निर्माण गर्न थालेको छ । “वसन्तापखोर निकै चर्चित र रमणीय ठाउँ हो, उच्च पहाडमा रहेको यो क्षेत्र निकै सुन्दर छ, यसले धेरैलाई आकर्षत गर्ने गरेको छ, तर अहिलेसम्म पूर्वाधारले जोडिन नसक्दा ओझेलमा परेको थियो, हामीहरुले यस वर्षदेखि पूर्वाधार विकासले जोड्नुका साथै प्रचारप्रसारलाई जोड दिएका छौँ”, उनले भने, ‘अहिले यहाँ बनाउन थालिएको पदमार्गले दुई वटा गन्तव्यलाई जोड्ने छ, तल जनजाति सङ्ग्रहालय र माथि वसन्तापखोर ।’
जनजाति सङ्ग्रहालयदेखि करिब १ हजार २०० मिटरको दूरीमा रहेको बसन्तापखोरसम्म पदमार्ग निर्माणका लागि थोरै बजेट विनियोजन गरेर केही वर्षमै पूर्णता पाउने उपाध्यक्ष थापाको विश्वास छ । वसन्तापखोर उच्च पहाडमा भएको हुँदा यहाँबाट दर्जनौँ हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ भने बागलुङलगायतका धेरै ठाउँ देख्न सकिन्छ । उपाध्यक्ष थापाले भने, “पर्यटक भित्र्याउन मुख्य त पूर्वाधारको विकास हुनुपर्छ । जहाँ पूर्वाधारले पर्यटकीय ठाउँ जोडिएका छन् त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।”
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
